जिमी ग्रुपद्वारा खाद्य सामग्री वितरण



काठमाडौँ। चौथो चरणको लकडाउनका कारण बेखर्ची बनेका मजदुर तथा विपन्न परिवारलाई जिमी गु्रप प्रा.लिले खाद्य सामग्री वितरण गरेको छ।

गु्रपका निर्देशक जीवन चलाउनेका अनुसार बुधबार राजधानीको कालिमाटीमा पुगेर बेखर्ची बनेका मजदुर तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो।

उनले भने, ‘काठमाडौँको कालिमाटीमा समस्यामा परेका दैनिक ज्यालादारी गरि आफ्नो जीविका चलाइरहेका दुई हजार जना मजदुरहरुलाई राहत वितरण गरेका छौं। राज्यले स्थानीय तहलाई जिम्मा दिएपनि उनीहरुले राहत नपाएको र पाएको पनि केही दिनका लागि मात्रै पुगेकाले हामीलाई खबर गर्नु भएको थियो। त्यस कारण हामीले उहाँहरुलाई हामीले सकेको केही राहत सामग्री प्रदान गरेका छौं।’

उनले अगाडि भने, ‘हामीले राज्यलाई परेका हरेक असजतामा साथ दिदै आईरहेका छौं। यतिबेला पनि सरकारले मात्रै चाहेर सबैको उद्धार तथा व्यवस्थापन सम्भव हुँदैन। त्यसैले हामीले सयौंको संख्यामा रहेका मजदुर तथा विपन्न परिवारलाई पाँच केजी चामल, एक केजी दाल, एक लिटर तेललगायत सामग्री वितरण गरेका छौैँ।’

विश्व मानव समूदाय यतिबेला कोरोना भाइरस (कोभिड-१९) बाट त्राहिमाम बनेको छ। नेपाल सरकारले चौथो चरणको लकडाउन घोषणा गरेको छ। यहि वैशाख १५ गतेसम्म चौथो चरणको लकडाउन कायम रहनेछ।

तर, राजधानीमा रहेका मजदुर तथा ज्यालादारी मान्छेहरु बेखर्ची बनको स्थिति छ। सरकारले स्थानीय सरकारलाई राहत तथा व्यवस्थापन गर्ने जिम्मा दिएपनि पीडितहरुले उचित राहत प्राप्त गर्न सकेका छैनन्।