लेटा होङ फिन्चर,
ताइवानमा शुरुवातमा नै लिइएका हस्तक्षेपकारी कदमहरुले यति सफलतापूर्वक कोरोनाभाइरसको महामारी नियन्त्रण ग(यो कि अहिले उसले लाखौँको संख्यामा मास्कहरु युरोपियन युनियन र अन्य राष्ट्रहरुमा निर्यात गरिरहेको छ।
जर्मनीले युरोपकै सबैभन्दा बृहद कोभिड–१९ परीक्षण गरिरहेको छ जसमा हप्तामा ३ लाख ५० हजार परीक्षण हरेक हप्ता गरिँदैछ । यसले भाइरसको संक्रमणलाई पहिचान गरी उनीहरुलाई आइसोलेट गरेर प्रभावकारीरुपमा उपचार गर्न मद्दत मिलेको छ ।
न्युजिल्याण्डकी प्रधानमन्त्रीले शुरुवातमै पर्यटनलाई बन्द गरेर एक महिना लामो देशव्यापी लकडाउन लागू गरेकी थिइन् । जसले देशमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या मात्र चार जनामा सिमित बनेको छ ।
तीनै देशले कोरोनाभाइरसको महामारीविरुद्धको युद्धमा चालेको कदमले सबैको प्रशंसा बटुलेको छ । तीनै देश विश्वमान चित्रमा छरिएर रहेका छन्, एउटा युरोपमा, अर्को एसिया र अर्को दक्षिणी प्रशान्त क्षेत्रमा । तर यी देशहरुमा एउटै कुरा समान छ – तीन देशको नेतृत्व महिलाले गरेका छन् ।
यी तीनको सफलता तथा अन्य नेतृहरुद्वारा नेतृत्व गरेको सरकारले महामारीविरुद्ध चालेको कदमलाई सबैले ध्यान दिन जरुरी छ किनभने महिलाहरुले विश्वका नेताहरु मध्ये ७ प्रतिशतमात्र स्थान ओगट्छन् ।
शुरुवाती निर्णायक कदम
जनताको उच्च विश्वास प्राप्त सरकार रहेका यी बहुदलवादी प्रजातन्त्रिक देशहरुले शुरुवाती वैज्ञानिक हस्तक्षेपबाट महामारीलाई नियन्त्रण गर्न सफल भएका छन्। उनीहरुले बृहद परीक्षण, गुणस्तरीय स्वास्थ्य उपचारमा सजिलो पहुँच, आक्रामक कन्ट्याक्ट ट्रेसिङ ९संक्रमितसँग सम्पर्कमा आएकाहरुको पहिचान० र सामाजिक जमघटमा कडा प्रतिबन्धलाई लागू गरेका थिए ।
२।४ करोड जनता भएको ताइवानको जनसंख्या अस्ट्रेलिया कै हाराहारी रहेको छ । विश्व स्वास्थ्य संगठनको सदस्यसमेत नभएको यो राष्ट्र महामारीको ठूलो जोखिममा थियो । तर, जब ताइवानकी राष्ट्रपति त्साई इङ–वेनले गत वर्षको डिसेम्बरमा ऊहानमा रहस्यमय भाइरसले मानिसहरुलाई संक्रमित गरिरहेको समाचार सुनिन्, उनले तत्कालै ऊहानबाट आउने सबै विमानको जाँच गर्न आदेश दिइन् ।
उनले त्यसपछि महामारी कमान्ड केन्द्र स्थापना गरिन्, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र मास्कको उत्पादनमा वृद्धि गरिन् र चीन, हङकङ र मकाउको उडानमा प्रतिबन्ध लगाइन् ।
ताइवानले शुरुवाती चरणमा नै नियन्त्रणका आक्रामक उपायहरु अपनाउँदा देशमा हालसम्म ३९३ जनामात्र संक्रमित फेला परेका छन् भने ६ जनाले मात्र ज्यान गुमाएका छन् ।
जर्मनीमा ८।३ करोड जनसंख्या छ । त्यहाँ १ लाख ३२ हजार संक्रमित छन् तर अन्य योरोपिन देशहरुको तुलनामा मृत्युदर निकै कम छ । महामारी नियन्त्रणमा खेलेका भूमिकाका कारण क्वान्टम केमेस्ट्रीमा विद्यावारिधी हासिल गरेकी जर्मन चान्सलर एन्जेला मर्केलको ‘एप्रुभल रेटिङ’ वृद्धि भएको छ । जर्मनीमा यतिबेला युरोपभर कै सबैभन्दा धेरै आइसीयू बेड र बृहद कोरोना परीक्षण कार्यक्रम रहेको छ ।
‘सायद सरकारको उच्च तहमा तर्कसंगत निर्णय क्षमता र जनताको सरकारप्रतिको विश्वास नै जर्मनीको सबैभन्दा ठूलो शक्ति हो जस्तो लाग्छ,’ हाइडलबर्गमा रहेको युनिभर्सिटी अस्पतालका भाइरोलोजी विभागका प्रमुख हान्स–जिओर्ग क्राउस्लीचले न्युयोर्क टाइम्ससँग कुराकानी गर्दै भनेका थिए ।
५० लाख जनसंख्या भएको न्युजिल्याण्ड पर्यटनमा आश्रित रहेको छ । तर, प्रधानमन्त्री जसिन्डा आर्डेनले मार्च १९ मा नै विदेशी आगन्तुकका लागि न्युजिल्याण्डको सीमा बन्द गरिन् भने मार्च २३ मा पूरै देशमा लकडाउन लागू गरिन् । त्यसपछि देशभर नै कोभिड–१९ को परीक्षण शुरु गरियो र १३ सय बढी संक्रमित फेला पारियो । अहिलेसम्म न्युजिल्याण्डमा मात्र ९ जनाले ज्यान गुमाएका छन् । अहिले देश लकडाउनको अवधिको मध्यतिर छ तर आर्डेन यो चाँडै अन्त्य नगरिने बताउँछिन्।
नर्डिक देशहरु
पाँचमध्ये चार नर्डिक देशहरुमा महिलाको नेतृत्व रहेको छ । ती देशहरुमा युरोपका अन्य राष्ट्रहरुको तलुनामा कम मृत्युदर रहेका छन् । उदाहरणका लागि फिनल्याण्डकी ३४ वर्षीया प्रधानमन्त्री विश्वकै युवा सरकार प्रमुख हुन् तर महामारीका लागि उनले गरेको तयारीका कारण उनको अप्रुभल रेटिङ ८५ प्रतिशत रहेको छ । ५५ लाख जनसंख्या भएको फिनल्याण्डमा हालसम्म ५९ जनाले ज्यान गुमाएका छन् ।
आइसल्याण्डकी प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले ३ लाख ६० हजार जनसंख्या भएको सानो देशको नेतृत्व गर्छिन् । त्यहाँ ठूलो संख्यामा गरिएको परीक्षणले विश्वका लागि नयाँ जानकारी पनि दिएको छ – ५० प्रतिशत कोरोनाभाइरस संक्रमितमा लक्षण नै देखिँदैन । आइसल्याण्डले पनि शुरुवाती चरणमा नै हस्तक्षेप गरेर संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको साथै संदिग्धलाई क्वारेन्टाइनमा राखेको थियो ।
पुरुषद्वारा नेतृत्व गरिएको एकमात्र नर्डिक देश स्वीडेनमा भने प्रधानमन्त्री स्टेफन लोफ्भेनले लकडाउनलाई अस्वीकार गर्दै स्कूल र व्यवसायलाई खुला राखेका छन् । त्यहाँ अन्य युरोपियन देशको तुलनामा त्यहाँ मृत्युदर निकै उच्च रहेको छ ।
अन्य महिला राष्ट्रप्रमुखहरु पनि कोरोनाभाइरसविरुद्ध लिएको कठोर कदमका कारण चर्चामा छन् । सिन्ट मार्टिनकी प्रधानमन्त्री सिल्भेरिया ज्याकब्सले ४१ हजार जनसंख्या भएको सानो करेबियन टापुको नेतृत्व गछिन् । तर, दुई हप्तासम्म ‘हलचल नगर्नु’ भन्दै जनतालाई जारी गरेको भिडियो सन्देश निकै भाइरल बनेको थियो । ‘तपाईंहरुलाई मनपर्ने रोटी घरमा छैन भने क्र्याकर खानुहोस् । रोटी नै छैन भने ओट्स र सिरियल्स खानुहोस्,’ उनले कडा स्वरमा भनेकी थिइन् ।
अक्षम, विज्ञानलाई अस्वीकार गर्ने पुरुषहरु ?
दक्षिण कोरियाका राष्ट्रपति मोन जे इनले देशमा कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लिएको कदमका कारण निकै वाहवाही बटुलेका छन् । तर, धेरै राष्ट्रहरुमा असक्षम र विज्ञानलाई अस्वीकार गर्ने पुरुषहरुको कारण कोरोनाभाइरस खतरनाक महामारीको रुपमा फैलिएको छ ।
अहिले महामारीको केन्द्रविन्दु बनेको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुवातमा भाइरसलाई ‘हौवा’ भन्दै डेमोक्रेटिक पार्टीले यसलाई राजनीतिक गरेको आरोप लगाउँथे । उनले महिनौँसम्म शीर्ष वैज्ञानिकहरुले दिएको चेतावनीलाई बेवास्ता गरे । जसले गर्दा अहिले त्यहाँ ५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने २५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
उता, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि जनस्वास्थ्यको समस्यालाई नकार्दै अन्य देशमा लकडाउन लागू भइसक्दा पनि लामो समयसम्म सामाजिक जमघटमा प्रतिबन्ध लगाएनन् । कोभिड–१९ ले थला पर्दै अस्पतालमा भर्ना हुनअघिसम्म उनले रिपोर्टरहरुलाई भन्दै थिए – मलाई भाइरसले अस्पतालका रोगीहरुसँग हात मिलाउन रोक्दैन ।
अहिले नै कुन नेताले कोरोनाभाइरसको नियन्त्रणमा उचित कदम चाले भन्ने यकिन गर्न नसकिएला तर माथिका उदाहरणले शुरुवाती चरणमा नै भाइरसको नियन्त्रण र रोकाथामका लागि कदम उठाउने महिला नेतृ नै थिए भन्ने चाहिँ पक्कै देखिएको छ ।
सीएनएनबाट