मजदुरमाथि सरकार र झरीको मनपरि



नरबहादुर कार्की

वर्षको पहिलो पानी परीरहेको छ। हावाहुरीले दिन भरी निरस आकाशले ओडेको सात ठाउँ प्वाल परेको बादलको खास्टो सल्बलाई रहेको छ।

भनिन्छ वर्षको पहिलो पानी सुख बोकेर आउछ। सुख शब्द लेखी नसक्दै, सिमामा अडकिएका नेपाली मजदुर, युरोप अमेरिकामा अत्यास लाग्दो फुर्सद र जिस्काइरहेको मृत्‍युको तथ्याङ्क टोलाएका नेपाली आफन्त, अन्यौल र अनिश्चितताको एउटा रेखा जसको अगाडि होइन पछाडि दौडन वाध्य संसार- आँखा भरी छाउछ।

के भयो होला उनीहरु बसेको त्रिपाल, कतै खाना पाक्दा पाक्दै आगो निभ्यो कि? सडकको अलकत्राले पोल्ने डर र बाटोमा प्रशासनको खोजिनितीबाट सुरक्षित हुँदै लकडाउनको प्रवाह नगरी सप्ताहलगाएर पैदल घर फर्किदै गरेका मजदुर,खासगरी उनीहरुका बच्चा र महिलाहरुलाई हावाका झोकाले वा बडेमानका रुख हरुले सुसाएर तर्साएकी ?

देश छोडन धम्की दिइरहेका अरब, अष्ट्रेलिया, अमेरिकामा रोगभन्दा रोजिरोटी गुम्ने डर भएकालाई कतै सिंहदरवारले बिर्स्योकी ? यो बर्षको पहिलो पानीसँग मिसिएको हावाले किन कुनै पुरानो रिस र बदलाको हुन्कार देखाउछ।

धुकुटिमामा पैसा र स्टोरमा खाना भएकाहरुको बढीमा अतिरिक्त नाफा मरेको होला, कतै गरीबका आन्द्रामा हुने खाना पचाउने रसायन र सोस्ने तन्तु मरेकी ?

झट्ट याद आउछ, महा भुकम्पको। त्यती बेला बुवा जिवित हुनुहुन्थ्यो। आमा कुनै बहाना बनाएर मैले रेडियो नेपाल मार्फत सकारात्मक कसरी सोच्ने भनेर जवाफ दिएको सुनी राख्नु हुन्थ्यो। यो बैशाखमा मलाई त्यस्तो लागेको छैन। त्यो बैशाख आकस्मिक थियो, यो बैशाख आउछ भन्ने माघमा नै थाहा थियो। हो जरुर हाम्रा ति मान्छेलाई थाहा थिएनI आर्थिक शरणमा गएका हाम्रा श्रमिक लाई थाहा थिएन। एउटा काला पहाडेको आफ्नै सपनाको लम्बाइ गड्डा चौकी, बनबासा, रुपैडिहा देखी गढवाल सम्म हुन्छ। उसका योजना र श्रोतको परिधी त्यही पल्लेदारी, चौकिदारी र सडक खनेर पाएको केही सय भारु मा सिमित हुन्छ। तर, हृदय क्यानाम सानो हुँदैन। रोग र परेसानीको सानो बादल गाउको आकाश तिर देखिने बित्तिकै दौडेर आउन मन लाग्छ।

त्यो औंला भाचेर र आफ्नै मुख ठगेर बचाएको पैसाले केटाकेटीको अनुहारमा एक झलक हासो देख्ने रहर अजिब हुन्छ। हुन त गरीबको प्रेम र उस्को देश भक्तिको नामाकरण गर्न खास्सै शब्द बाँकी हुँदैनन। भएका राम्रा शब्द जती सबै सत्तामा बस्नेको पूजा आराधनामा खपत भाईसकेका हुन्छन। जेहोस् यो बैशाख र बर्षको पहिलो पानीमा मकैको बिउले उसको जोत्ने मान्छे पर्खेको छ। पुणे, मुम्बई, राज्स्थान पुगेका अनी उपायहिन भएर हलोसँग नाता तोडेका। तर समय मिल्ने बित्तिकै नेपालमा के भयो भन्नेको कहानीलाई यो पानी र हावाहुरिले अहिले छोइ हाल्दैन होला। मनमा यस्तै यस्तै विचारको लहर चलिरहेको छ।

धेरै पटक सम्झे- काठमाण्डौमा कोष छ, कोषमा पैसा छ। त्यो पैसालाई ति मजदुरको कुनै पर्वाह होला ? काठमाण्डौमा कुर्सी छन। कुर्सिमा तिनै मजदुरका मुक्तीदाता कहलिएका मान्छे छन। के तिनिहरुलाई आफ्नो देश ल्याउने कुनै चिन्ता होला ? २२ दिनदेखी पर्खेका नागरिकलाई आफ्नो माटोमा टेकाउन कुन डाक्टरको अनुमती चाहिने रहेछ? एउटा आमाले आफ्नो सन्तान स्कुलबाट आउन ढिला भो भने छाती पोल्दछ रे, तर हाम्रा हजारौ आफन्त आफुलाई लैजाउ भनेर गुहार गर्दछन- अनी हामी यो हुरी र बतासमा ढोका थुनेर कसरी बस्न सक्छौ ? थाहा छ रोग आउछ, त्यो हामी जस्तै धेरै देशलाई पनि थाहा छ । तर उनीहरु र हामीमा एउटा भिन्नता छ । उनीहरु ठान्दछन- यो बेला उनीहरुलाई आफ्नो आमाले बिर्सेंको भन्ने पर्‍यो भने, आफ्नो माटोले नचिनेकोमा दु:ख लाग्यो भने- त्यो मृत्‍यु भन्दा कठोर हुनेछ, त्यो मौसमी रुघा होइन, शरीरमा सिस्ट बन्नेछ । कोही दश गजाको नागरिक हुँदैन, पहिचान भन्दा र सम्रक्षण भन्दा ठुलो अधिकार हुँदैन।

खैर, यो हावा कुन दिशामा दौडी रहेको छ थाहा भएन। नयाँ बर्षको पहिलो पानीले घर हुने र घर बाहिर हुनेको देश उस्तै भएको छैन। खाना खाएर कोरोनासँग लडने र भोकै लडनेको तयारी उस्तै छैन। गलफत्ती गरेर, रोएर, अनुनय बिनय र अनुकम्पामा माया मागेर शायद त्यसको महत्व घटछ । दिनेले हात नदिये पछी संकटको बेला मुटु पनि दुखी बनाए र टोलाउनु छ । फेरी पनि सोच्छु- को त्यहा भएको भये सरकार दौडेर जाँदो हो? कुन बेला भएको भये भाडा तिरेर टिसर्ट किन्देर, हातमा झन्डा बोकाउन जाँदा हुन? कस्तो मन भएको भये एउटा खाली मैदानमा एक हप्ता भित्र हजारौ त्रिपाल हालेर आफ्नो नागरिकको सेवा गर्न सेना र प्रहरी लाग्दो हो ?

हजारौ आमाले आफ्ना छोराछोरी लडाईंमा पठाइन, बिरगती पाएका खबरले आसुले खोरिया भिजाइन तर हारिनन। यही सोचेर कि कुनै दिन मजदुर किसानका दिन आउँलान, कुनै दिन ब्यबस्था फेरिएर उनीहरुको हैसियत फेरिएला। अहम् रोकिएन उनीहरुलाई तर्साउने, उनिहरुलाई पैदाल हिडाउने, उनीहरुको नाकाबन्द गर्ने उनीहरुलाई खाएका मान्छेसँग भोकै लडाउने त्यो बिरासतको शासकत्व।

(लेखक सामाजिक अभियन्ता हुन्)