बंगलादेशमा रहेका नेपाली विद्यार्थीले भने, ‘भाडा आफै तिर्छौं, सरकारले प्लेन चार्टर गरिदिए पुग्छ’



काठमाडौँ। बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुले आफूलाई उद्दार गर्न माग गर्दै नेपाली राजुदवास मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट त्राहिमाम बनेका नेपाली विद्यार्थीहरुले बंगलादेशभन्दा आफ्नै देशमा सुरक्षित देखिरहेका छन्।

नेपाल फर्किन चाहने विद्यार्थीहरुले प्रधामन्त्रीको कार्याल, शिक्षा कार्यालय र परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र इमेल मार्फत मंगलबार पठाएका हुन्।

उनीहरुले नेपाल सरकारलाई इमेल मार्फत पठाएको ज्ञापनपत्र यस्तो छ:- 

श्री महामहिम राजदुतज्यु,
नेपाली राजदुतावास
ढाका, बंगलादेश।

विषय :- उद्दार गरिदिने बारे।

महोदय,
उपरोक्त सम्बन्धमा विश्व ब्यापी महामारीको रुप लिएको यस नोबेल कोरोना भाइरसको संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बंगलादेशमा दिनानुदिन बढ्दै गइरहेको श्रीमानलाइ अवगत नै छ। अहिले यस्तो अवस्थामा आफ्नो देश, घर परिवारबाट टाढा रही बंगलादेशमा अध्ययन गर्न आएका विद्यार्थीहरुको अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ। बिगत ३ हप्ताभन्दा बढी समयदेखि आ-आफ्नो कलेजको होस्टेलभित्रै त्राशमय बातावरणमा बसिरहेका छन्।

नेपाली विद्यार्थीहरु यस्तो बेलामा घर परिवारसँग छुट्टिएर बस्नु ,चाहेर पनि आफ्नो देश फर्कन नपाउनुले विद्यार्थीहरुको मनोबल घट्दै गएको छ। हामी मानसिक रुपले निकै नै कमजोर बनिसकेका छौं।

हाल उच्च शिक्षा अध्ययनका लागि नेपालबाट बंगलादेशमा आएका करिब ६५० जना (नेपाल राजदुतावास अनुसार) नेपाली विद्यार्थीहरु स्वदेश फर्कन नपाइ सेल्फ क्वारणटाईनमा आ-आफ्नो कलेज होस्टेलमै बसिरहेका छौं। हालसम्म नेपाली राजदुतावासको निर्देशन पालना गरेरै बसिरहेका छौं। तर, अहिले बंगलादेशमा कोभिड १९ को संक्रमित एवंम मृत्यु संख्या दिनानुदिन तीव्र गतिमा बढिरहेको छ। चाँडै नै नियन्त्रणभन्दा बाहिर जाने देखिन्छ। यसले गर्दा हामी असुरक्षित महसुस गरिरहेका छौं।

यहाँको उच्च जनघनत्वका कारण सामजिक दुरी कायम राखेर बस्न पनि कठिनाइ रहेको छ। यसर्थ हामीहरुलाई यथाशक्य छिटो उद्धार गरि नेपालमा लग्ने बातावरण मिलाइ दिनुहुन श्रीमान महामहिम राजदुतज्यु मार्फत नेपाल सरकारलाई अनुरोध गर्दछौं।

साथै हामीलाई उद्धार गरेर लिएर जाने राज्यको दायित्व हुँदाहुँदै पनि यदि राज्यसँग आर्थिक कठिनाई रहेको अवस्था छ भने राज्यले हामीलाई एउटा प्लेन चार्टरको व्यवस्थापन गरिदिए त्यसको न्युनतम लागत हामीले आफै तिरेर आफ्नै खर्चमा नेपाल जानेछौं। नेपाल पुगीसके पछि हामी होम क्वारानटाईन अथवा राज्यले तोकेको स्थानमा क्वारानटाईनमा बस्न तयार छौं। यति भइसकेपछि हाम्रो आधारभूत मानव अधिकारको संरक्षण राज्यले गर्नेछ भन्ने आशा गरेका छौं। धन्यबाद।

बोधार्थ:-                                                                          
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,
पररास्ट्र मन्त्रालय, काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं

निवेदक:-

हाल बंगलादेशमा रहेका स्वदेश फर्कन चाहने नेपाली विद्यार्थीहरु