भक्तपुरमा बेखर्ची बनेका कालिकोटका मजदुरलाई खाद्य सामग्री हस्तान्तरण



काठमाडौँ। कालिकोटबाट रोजगारीका लागि भक्तपुरको चागुनारायण नगरपालिकामा बेखर्ची बनेका २१ जना मजदुरले राहत प्राप्त गरेका छन्।

नेकपाका नेता तुलाराज सिम्खडा, मनराज बराल, अनेमसंघकी केन्द्रीय सदस्य यशोदा बराल, राष्ट्रिय युवासंघ नेपाल, अनुसाशन आयोगका केस मेघराज शाही र इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलको संयुक्त पहल तथा सहयोगमा उनीहरुले रातह प्राप्त गरेका हुन्।

नेता शाहीका अनुसार आइतबारदेखि नै बेखर्ची बनेको र स्थानीय वडा पालिकाले राहत नदिएको भन्ने खबर पाएपछि उनीहरुलाई एक क्वीन्टल २० केजी चामल, ७ केजी दाल, तीनवटा सिलिण्डलर, १३ केजी आलुलगायत खाद्य सामग्री हस्तान्तरण गरिएको हो।

कालिकोट राष्कोट नपाका २१ जना मजदुरहरु भक्तपुरको चागुनारायण नपा वडा १ र ५ मा लकडाउनमा परेर घर जानबाट वञ्चित भएका छन्।

कर्णालीबाट राजधानी काठमाडौंँ, भक्तपुर, ललितपुर, धादिङ, काभ्रे, नुवाकोट र गोरखामा दुई सय ५० जनाभन्दा बढी मजदुरहरु बेखर्ची तथा अलपलत्र परेको समाचार कर्णाली सन्देशले प्रकाशित गरेपछि मनकारी व्यक्तिहरुले गत चैत २४ गतेदेखि सहयोग गर्दै आइरहेका छन्।

केही मजदुरहरु खोलाको किनारामा पालमूनी रहेका छन्। हावाहुरी र पानी पर्ने सुरु भएका कारण उनीहरुको तत्तकाल उद्धार गरी सुरक्षित स्थानमा राख्न नेता शाहीले सरकारलाई सुझाव दिएका छन्।