डब्लुएचओले भन्यो, ‘भ्याक्सिनविना कोरोना रोक्न सकिँदैन’



काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ।

भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ। डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन्।

उनले भनेका छन्, ‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ। हामीलाई थाहा छ यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ।’

सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो। चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ। कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख बढीको ज्यान गइसकेको छ। तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन।