काठमाडौँ। विश्व मानवजाती यतिबेला कोरोना भाइरस (कोभिड-१९) का कारण त्राहिमाम बनेको छ। कोराना भाइरसका विरुद्धमा युद्ध लडिरहेको मानव समूदाय ठूलो परिक्षणको घडिमा छ। यस महामारीबाट जित्नका लागि स्वास्थ्य विज्ञान लागि परको छ। विश्व स्वास्थ्य संगठनले कोरोना परिक्षणलाई तीव्र पार्न विश्वका सरकार र सत्तालाई निर्देशन दिइरहेको छ।
हाम्रो देश यतिबेला तेस्रो चरणको लकडाउन र कोरोनाको दोस्रो चरणमा प्रवेश गरेको छ। दोस्रो चरणमा रोक्नु नै पहिलो चुनौती हो। तथापी कोरोनाको प्रकोप बढ्यो भने नेपालमा ठूलो क्षेति हुने जानकारहरु बताउछन्। यस महामारीका विरुद्धको युद्धको पहिलो पंक्तिमा हामी स्वास्थ्यकर्मीहरु छौं। आँखै अगाडि डाक्टरहरु ढलिरहेका छन्। तर पनि हामीले हरेस खाएका छैनौं।
बेलायत अहिले कोरोना भाइरसको महामारीको चपेटमा छ। बेलायतमा आजका दिनसम्म ११ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ। त्यस्तै करिब एक लाख मानिसहरु संक्रमित बनेका छन्। बेलायतमा मृत्यु हुनेमा ६ जना नेपाली पनि छन्। अन्य केही नेपालीमा पनि कोरोना संक्रमण देखिएको छ। विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एकलाख २० हजार नजिक पुगेको छ। लाखौंलाख संक्रमित बनेका छन्।
यहाँका अस्पतालहरु संक्रमितहरुले भरिएका छन्। नयाँ अस्पताल बन्दैछन्। आइसियु, कोभिड वार्ड भरिएका छन्। मृत्युदर पनि बढि रहेको छ। साथै संक्रमण एकदम बढ्दैछ। अहिले विश्व नै कोरोनाको आस र त्रासका बीचमा गुज्रिरहेको छ। आँखै अगाडि हाम्रा सहकर्मीहरु ढलिरहेका छन्। हामीले पढ्दाखेरी खाएको कसमलाई पूरा गर्न दिनरात नभनि काममा खटिएका छौं। हामी १३ घण्टासम्म लगातार काम गरिरहेका छौं। त्यो पनि संक्रमतिहरुको भिडमा। यता संक्रमित, उता संक्रमित। कहिले काही त लाग्छ कतिबेला के हुन्छ ? बाचिन्छ या मरिन्छ ? यस्ता तमाम आर्तनादहरु मनमा खेल्छन्। यसैबेला मातृभूमिको तस्बिर आँखामा आउँछ। नेपालमा पनि दिन प्रतिदिन संक्रमितको संख्या बढि रहेकोछ। त्यो बेला बेलायत र नेपालको तुलना गर्न मन लाग्छ।
बेलायत जस्तो देशलाई त कोरोनासँग लड्न हम्मे हम्मे परेको छ भने हाम्रो देशमा कोरोनाले महामारीको रुप लियो भने के होला? त्यसपछि भएको जोस जागँर पनि मरेर आउछ। सम्भावित जोखिम निक्कै धेरै छ। हाम्रो देशको स्वास्थ्य व्यवस्था निक्कै कम्जोर छ। प्रसस्त मात्रामा आसियु छैनन्। व्यवस्थित र सुविधा सम्पन्न क्षमता भएका अस्पताल छैनन्। धन्न आजका दिनसम्म नेपालले कोरोनाबाट क्षेति व्यहोर्नु परेको छैन। सात समुन्द्र पारीबाट कामना गर्छु, युरोपको जस्तो हालत नेपालले भोग्न नपरोस्। युरोपको जस्तो अवस्था नेपालमा नआओस्। समयमै सरकार र जनता सचेत भएर यसका विरुद्धमा जुध्न सक्नुहोस् मेरो यहि कामना छ।
म हाल फ्रिम्ली पार्क अस्पताल क्याम्बलीमा कार्यरत छु। कोरोनाका विरुद्धको भ्यासिन परिक्षणका घडिमा रहेको र वैज्ञानिकहरुका अनुसार त्यो खोप प्रयोगमा आउन कम्तिमा ६ महिना लाग्ने समाचारहरु आइरहेका छन्। त्यसैले तबसम्म हामीले सचेतना र सजकता अपनाउनुको अर्को विकल्प छैन। कोरोना भाइरसविरुद्ध लड्न सबैभन्दा ठूलो दृढ इच्छा शक्ति र सचेतना नै प्रमख हतियार हो। हाम्रो देशको सकारले आफूसँग भएका संयन्त्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ। उचित समयमा लकडाउन गरिएका कारण नेपाल कोरोनाको मारमा पर्नबाट जोगिएको छ। सरकारको सक्रियता र जनताको धैर्यतामा कोरोनाको जोखिम निर्भर रहेन मैले देखेकी छु।
त्यसको अलावा विश्व स्वास्थ्य संगठनले दिएका टिप्सहरु र नेपाल सरकारले तय गरेका मापदण्डहरु पालना गर्नुपर्छ। मान्छेबाट मान्छेलाई सर्ने महामारी भएका कारण दुरी कायम गर्ने, तोकिएका सर्तहरुको पालना गर्ने, हरेक मानिस जिम्मेवार बन्ने, आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने समय हो। यसमा ध्यान दिनुपर्छ।
त्यस्तै खानपानमा पनि ध्यान दिने। तातो पानीमा बेसार, अदुवा, मह र कागती राखेर खाने। कोरोनाबाट भयभित बनेर होइन, जुधेर बाँच्ने कोसिस गर्नुपर्छ। खुशी हुने, क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले निरास र हरेस नखाने। हाँसखेल गरेर समय बिताउने। शरीरमा रोतप्रतिरोधी क्षमता बढाउने परिकारहरु खाने। मनलाई कमजोर नबनाउने। समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने। हौसला प्रदान गर्ने जस्ता क्रियाकलाप हुनुपर्छ। अर्को कुरा घरभित्र बसेको बेला बाहेक अन्यत्र निस्किदा मास्कको प्रयोग र दुरी कायम अनिवार्य गर्नुपर्छ।
(बेलायतमा कार्यरत नेपाली नर्स सुनिता सुनारसँगको कुराकानिमा आधारित)