जुन सुत्केरीले न घर जान पाईंन्, न पेटभरी खान !



प्रतिक्षा योगी,

काठमाडौँ। यति खेर विश्व मानिस समूदाय कोरोना भाइरस (कोभिड-१९) बाट त्राहिमाम बनेको छ। कोरोनाले यो सामग्री तयार गर्दाको समयसम्म विश्वमा एकलाख १४ हजारभन्दा धेरै मानिसको ज्यान लिइसकेको छ।

उक्त महामारीबाट हाम्रो देश पनि अछुतो बन्न सकेन। कोरोनाको आस र त्रासका बीच नयाँ वर्ष २०७७ को चुनौतीपूर्ण आगमन भएको छ। तेस्रो चरणको लकडाउनबाट नेपाल र नेपालीलाई वाक्क र दिक्क बनाइ सकेको छ। पछिल्ला केही तस्बिरहरु र अवस्थालाई हेर्ने हो भने रोग र भोकले एकसाथ आक्रमण गर्ने देखिन्छ।

हाम्रो जस्तो अविकसित र सचेतनाको कमी भएको देशमा यस्ता महामारीले ठूलो असर गर्ने नै भयो। छिमेकी देश भारत र चीन कोरोनाको युद्धमा जुधिरहेका छन्। विकासित देशलाई पनि कोरोनासँग जुध्न हम्मेहम्मे परिरहेको अवस्था छ। नेपाल सकारको सक्रियता र जनताको धैर्यतामा कोरोनाको जोखिम निर्भर हुने जानकारहरु बताउछन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन एक सावधानी हो, समाधान भने होईन। अर्को कुरा लकडाउन जनताका लागि हो, सकारका लागि होईन। यस्तो बेलामा सरकार चार गुणाभन्दा बढी सक्रिय हुनुपर्छ। केन्द्र सरकारले स्थानीय हतलाई असहजतामा परेका जुनकुनै व्यक्तिलाई संरक्षण गर्न निर्देशन दिएको अवस्था छ। तर, स्थानीय तह यतिबेला असली आहतमा परेका मान्छेलाई भन्दा स्थानीयबासीलाई रातह प्रदान गर्नमा व्यस्त देखिन्छ।

यस प्रकारको अवैज्ञानिक, अब्यवहारिक र पक्षपाति रातहबाट असली पीडितहरु अन्यायमा परेका छन्। जुन कुरा राजधानीबाट हुलका हुल गन्तव्यतिर हिडेका मानिसका तस्बिरले देखाउछ। काठमाडौँले न खान दिन्छ, न त घर जान दिन्छ भन्दै बेजोडी चप्पल लगाएर गन्तव्य चुमीरहेका मदजुरका कथाहरु मात्रै छैनन्। यहाँ त सुत्केरी बनेकी आमालेसम्म पेटभरी खान र शान्त मनले बस्न पाएका छैनन्। मानिसको सबैभन्दा ठूलो सपना बाँच्नु हो। त्यसैले मानिस जीवन चाहन्छ र स्वतन्त्रता पनि।

यिनै दुईवटा कुराहरुबाट वञ्चित बनेकी एक सुत्केरी हुन् कालिकोटकी लालसरा परियार। उनी अहिले राजधानीको नरदेवीमा बस्छिन्। श्रीमान मजदुरी गर्छन। ८ जनाको परिवार छ। ४ वर्षीय छोरा बिरामी छन्। छोराको स्वास्थ्यवस्था राम्रो छैन। कालिकोट जिल्ला पचालझरना गाउपालिका खाद्दु ३ कि लालसराले चैत १० गते छोरी जन्माइन्। उनले छोरी जन्माएको भोलिपल्ट अर्थात चैत ११ गतेबाट सरकारले लक्डाउन गर्यो। जसले गर्दा उनी कालिकोट जान जान त पाइनन्। बिडम्बना उनले पेटभरी खान पनि पाइनन्।

श्रीमानको कमाईले दुईचारदिन त धान्यो त्यसपछि झन समस्य बल्झिदै गयो। केही छाक मागरे टारिन। श्रीमानले केहीदिनसम्म जोहो गरे। आखिर मजदुरहरुलाई राज्यले समेत संरक्षण गर्न नसकेको अवस्थामा हुने खानेहरुले के नै हेर्थे? मागेको पैसा सकियो। ग्यास सकियो। खाने कुराहरु सकियो।

त्यसपछि लालसराको अवस्था तरुणदलका महासचिव भूपेन्द्रजंग शाही कहाँ पुग्यो। लालसराले शाहीलाई आफू साह्रै समस्या परेको खबर सुनाईन। शाहीले सरकारी निर्देशन र राज्यलाई कर्तव्यवान बनाउन खोजे। वडा कार्यालयमा जान सुझाए। तर, वडापालिकाले उनको परिवारका लागि जम्मा पाँच केजि चामल दियो।

त्यसपछि अर्को पालो कुर्न भन्यो। पाँच केजि चामलेले ८ जनाको परिवारलाई कति दिननै पुग्छ र? फेरि पनि लालसराले शाहीलाई नै फोन गरिन। आफ्नो अवस्था नाजुक रहेको र आफूहरु भोकै बस्नु परेको दु:खद खबर सुनाईन। सरकारले कडाइ गरेको लकडाउनलाई छिचोलेर २० दिनसम्म घरबाहिर ननिस्केर लकडाउनको पालना गरिरहेका महासचिव शाही नयाँ वर्षको पहिलो दिन राजधानीको नरदेवि पुगे। महासचिव शाहीलाई फोनमा लालसराले जति अभाव सुनाएकी थिइन, त्यो भन्दा १० गुणा बढी विरह लाग्दा कुराहरु सुन्न पर्यो।

ग्यास सकिएपछि मट्टितेलमा खाना पकाएर खाएको लालसराको परिवारले पछिल्ला दिनमा उनीहरुले दाउरा बालेर खाना पकाउछन्। उनीहरु जतिसक्दो राजधानी छोड्न चाहन्छन्। उनीहरुलाई काठमाडौैँ कुनै एक कारागारभन्दा कम लागेको छैन। केही दिन पहिले सकारले दिएको अपरिपक्व सूचनाबाट लालसराको परिवार पनि खुशी भयो। तर, काठमाडौँबाट दुई दिनका लागि बाहिरिन पाउने निर्ण डेढ घण्टा पनि टिकेन।

शाहीले आवश्यक खाद्यान्न र केही नगदसमेत प्रदान गरेर लालसराको मुहारमा खुशी फर्काएका छन्। साथै उनले लालसराको परिवारलाई लकडाउन अवधिभर आवश्यकीय व्यवस्था गर्नेछन्। महामारीलाई जित्न राज्य एक्लैले सक्दैन भन्ने कुरा बुझेका शाहीले बेखर्ची बनेका र असहजतामा परको अन्य व्यक्तिहरुको समेत भरोसा बन्ने बताएका छन्।

त्यस्तै गत वर्षको चैत २४ गतेदेखि कर्णाली सन्देशले राजधानी काठमाडौँमा अपलपत्र परेका र बेखर्ची बनेका समाचारहरु प्रकाशित गरेपछि केही सहयोगी मनहरुले आफ्नो जीवनको प्रवाह नगरिकन सहयोग गर्दै आएका छन्। हाल कर्णाली र सुदूरपश्चिमका २ जनाभन्दा बढी मजदुरहरु बेर्खची बनेका छन्। उनीहरुलाई केही दिनका लागि सहयोग जुटेको छ।

(नेपाल तरुणदलका महासचिव शाहीसँग गरिएको कुराकानीमा आधारित)