मुख्यमन्त्री शाहीद्वारा नयाँ वर्ष २०७७ को शुभकामना सन्देश



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ वर्ष २०७७ सालको अवसरमा शुभकामना सन्देश दिएका छन्।

सोमबार सामाजिक सञ्जाल मार्फत मुख्यमन्त्री शाहीले नयाँ वर्षको अवसरमा शुभकामना दिएका हुन्। उनले लेखेका छन्, ‘आजदेखि विसं २०७७ सालको शुभारम्भ भएको छ। नयाँ वर्ष २०७७ को यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका आम नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

जनआन्दोलन, जनयुद्ध र विभिन्न जनसंघर्षहरूको बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै हामी सबै नेपाली विकास र समृद्धिको महाअभियानमा अगाडि बढिरहेका छौं। विकास र समृद्धिको यो राष्ट्रिय अभियान पूरा गर्न प्रदेश सरकार पनि सम्पूर्ण शक्तिका साथ लागिरहेको यहाँहरूलाई अवगत नै छ।

विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा हाम्रा सामु अप्रत्यासित रुपमा कोरोना भाइरस ९कोभिड–१९०ले निम्त्याएको संकट आइपुगेको छ। विश्व मानवजातिका विरुद्ध खडा भएको यो संकटले हामीलाई विकास र समृद्धिको अभियानबाट विचलित वनाउने छैन बरु यो संकटको सामना गर्न हामी सक्षम हुनेछौं।

प्रदेश सरकार सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालनसहित अप्रत्यासित रुपमा आइपरेको यो संकट निवारण गर्न लागिपरेकोले कोही पनि नागरिक त्रसित एवं निराश नहुन आग्रह गर्दछु। बरु यस महामारीको सम्भावित जोखिम रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहुने विश्वास लिएको छु। सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र स्वास्थ्य सावधानी अपनाउन अनुरोध गर्दछु।

अन्यमा, हाम्रा सामु आइपरेका सबै बाधा, अवरोध र चुनौतीहरुलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाई समतामुलक समृद्ध समाजवादी देश निर्माणमा सफल हुने विश्वाससहित नयाँ वर्ष २०७७ को यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका आम नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’