नयाँ वर्षको पहिलो दिन बिहान ८ बजे राष्ट्रिय गान गाउँन प्रधानमन्त्रीको आग्रह



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ वैशाख १ गते बिहान ८ बजे राष्ट्रिय गान गाउन र तालि बजाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको विरुद्ध जुधिरहेका चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका हुन्।

यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो। जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन्। ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिनविहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो।

त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ। प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन्। उनले ट्वीट गर्दै भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।’