हामी आइपुग्यौं सिन्धुली



शीर्षक: हामी आइपुग्यौं सिन्धुली

  • रसुवाली कवी

एउटा कृषि मन्त्री थियोे
खुब भोकानाङ्गाको कुरा गर्दथ्यो
उ बदलियो
बदलिएन कृषि प्रणाली
बदलिएन हामी मजदुरको जीवन

एक माना चिउरा
एक पाउ दालमोठ चपाएर
ढुसी परेको झोला बोकेर
मैलो चेक सर्ट लगाएर
उल्टा सुल्टा जुत्ता चप्पल उनेर

हामी आइपुग्यौं सिन्धुली।

ए प्रहरी भाइ
बेदका छडीले
हिर्काउ हाम्रो दाम्रा जिउहरुमा
ए पत्रकार भाइ
खिच हाम्रो तस्वीर
र बेच तिम्रा मिडियाका मालिकहरुलाई

हामी आइपुग्यौं सिन्धुली।

ए सिडियो साप
हाम्रा भोकहरुलाई कर्फ्यु लगाउनुस
र भब्य रूपमा मान्नुस लकडाउन उत्सव

हामी आइपुग्यौं सिन्धुली।