काठमाडौँ। अनेरास्ववियूकी केन्द्रीय सदस्य आरती भण्डारीले कम्युनिष्टको मुख्य विचारधारा व्यवहारमा लागू नभएको टिप्पणी गरेकी छन्।
विहीबार सामाजिक सञ्जाल फेशुबक मार्फत उनले यस्तो टिप्पणी गरेकी हुन्। नेता भण्डारीले लेखेकी छन्, ‘हामी धेरै बुझे जसरी वैचारिक कुरा गर्छौं। अनि मक्ख पार्ने क्रान्तिकारी गफ गर्छौं। हाम्रा क्रान्तिकारी विचार कहिल्यै ब्यवहारमा परिवर्तन भएनन्। हामी आफूलाई मार्क्सवादी भन्ठान्छौं, माओत्सेतुङको विचारका अनुयायी भन्ठान्छौं, वर्गसंघर्षका विषयमा घन्टौं कुराकानी गर्छौं। तर, माओले कहिल्यै श्रमजीवीलाई होच्याउनुहोस भनेनन्, कार्ल मार्क्सले गरिबलाई अन्याय गर्नु भनेनन्। लेनिनले सङ्गठनको विधि बिधान, पार्टीको विधि बिधान छलफलमा सिमित राख्नु भनेनन।’
नेता भण्डारीले नेपाली कम्युनिष्टहरुको प्रवृत्ति विश्व कम्युनिष्ट आन्दोलनका अग्रज नेताहरुको विचार विपरित रहेको दाबी गरेकी छन्। उनले लेखेकी छन्, ‘तर, हाम्रो प्रवृत्ति उहाँहरुको विचार बिपरित छ। निर्देशन बिपरित छन्। हामीले खोला तरेर लौरो बिर्सने गर्यौ। भर्याङ्ग उक्लिएर जमिन बिर्सिने गर्यौ। भर्याङ्गका हरेक खुड्किला बिर्सिने गर्यौ। चुहिएको छानाभित्रबाट बिद्रोह गरेका हामी च्यात्तिएको नाना लगाएर क्रान्तिका लागि हिडेका हामीले आज आफूलाई त क्रान्तिकारी बनायौं। हाम्रा नाना फेरिएका छन्। चुहिएको धुरी र छाना फेरिएका छन्। हाम्रा भान्सामा पाक्ने चामल फेरिएको छ। तरकारी र मसलाको गुणस्तर फेरिएका छन्’
गाउँबस्ति र गाउँले मानिससँगको दुरी बढाएको भन्दै कम्युनिष्टहरुले कुन वर्गको नेतृत्व गर्ने खोजेको हो भन्दै गम्भीर प्रश्नसमेत गरेकी छन्। उनी अगाडि लेख्छिन्, ‘गाउँ बस्तिभित्रको झुपडी प्यारो लाग्ने हामिलाई अब ती बस्ती डुङ्डुङ्ग गन्हाउने भएका छन्। झुत्राझाम्रा नानाले सिगान पुछ्ने बानी परेका हामी अहिले चातिएका लुगा लगाउनेसङ्ग दुरि बढेको छ। अब हामीले कुन वर्गको नेतृत्व गर्न खोज्दै छौं? महामारीले सताएको बेला, सन्सार बिक्षिप्त भईरहेको बेला सरकारी राहत लिन धनाड्यहरु लाईन लागेको देख्दा हाम्रो गन्तव्यप्रति शंका लागेर आउँछ।’