एजेन्सी। आयरल्याण्डका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारीका बीच हप्ताको एकदिन डाक्टरको रुपमा आफ्नो भूमिका निर्वाह गर्ने योजना बनाएका छन्।
लियो भाराद्कारले किङ्ग्स कलेजबाट औषधी विज्ञान अध्ययन गरेका हुन् भने डब्लिनको ट्रिनिटी कलेजबाट डाक्टरको तालिम पनि लिएका छन्। राजनीतिमा प्रवेश गर्नुअघि उनले सात वर्ष डाक्टरी पेशासमेत गरेको रोयटर्सले जानकारी दिएको छ।
पूर्व चिकित्सक भाराद्कार आयरल्याण्डको मेडिकल रजिस्ट्रीमा पुनः समावेश हुँदै उनले आयरल्याण्डको स्वास्थ्य सेवा कार्यकारीलाई आफ्नो डाक्टरी सेवाको प्रस्ताव गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले एबीसी न्यूजलाई सोमबार जानकारी दिए।
‘उनका परिवारका थुप्रै सदस्य र साथीहरु स्वास्थ्य सेवामा कार्यरत छन्। उनले सानै प्रयासमार्फत् भएपनि सहयोग गर्न चाहेका छन्, ’प्रधानमन्त्री कार्यालयले बताएको छ। भाराद्कारका बुवा डाक्टर हुन् भने आमा नर्स हुन्। द आइरिस टाइम्सका अनुसार उनकी पार्टनर, दिदी– बहिनी र भिनाजु–ज्वाईं पनि स्वास्थ्य क्षेत्रमा नै कार्यरत छन्।
यद्यपि, प्रधानमन्त्रीले कस्तो खालको स्वास्थ्य सेवा प्रदान गर्नेछन् भन्नेबारे उनको कार्यालयले कुनै जानकारी त दिएको छैन तर द आइरिश टाइम्सका अनुसार प्रधानमन्त्रीले फोनमार्फत् अपोइन्टमेन्ट लिएर सहयोग गर्नेछन्।
आयरल्याण्डमा कोभिड–१९ को संक्रमणको आशंका भएकाहरुलाई सुरुमा फोनमार्फत् जानकारी लिन र त्यसपछि मात्र अस्पताल जान आग्रह गरिएको छ।