काठमाडौँ। सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ। कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो।
यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो। तर, संक्रमितको संख्या थपिँदै गएपछि दोस्रोपटक पुनः चैत २५ गतेसम्म थपेको थियो। त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय वैशाख ३ गतेसम्मको लागि थप्ने निर्णय गरेको हो।
अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको थियो। तर, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अधिकारीले बाजी मारे।