‘संकटका बेलामा कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्नुपर्छ’



काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले महामारीका विरुद्धमा सरकारसँग कांग्रेसले मिलेर काम गर्नुपर्ने बताएका छन्।

पूर्व सभासदसमेत रहेका कर्णले आइतबार सामाजिक सञ्जाल फेशबुक मार्फत उक्त कुरा जानकारी गराएका हुन्।

कोरोना भाइरस (कोभिड-१९) का विरुद्धमा सरकारले विज्ञता हासिल गरेका मान्छेहरुको साथ लिएर काम गर्नुपर्ने उनको भनाई छ।

साथै उनले नेपाली कांगेसका केही नेताले मध्यावधी चुनावको कुरा उठाएको प्रसँगलाई इंगित गर्दै महामारीका बेलामा यस्ता कुराहरुले जनतामा राम्रो सन्देश नदिने दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका आदरणीय पार्टी सभापतिलगायत नेतृत्व वर्ग सबैलाई थाह छ, विश्वमा अहिले कोरोनाको महामारी फैलिरहेको छ। नेपाललाई डब्लूएचओले उच्च जोखिमको सूचीमा राखेसँगै नेपालमा पनि लकडाउन गरिएको छ। यस जटिल परिस्थितिमा सरकारले जनतालाई भरपुर मात्रामा राज्य र सरकारको अनुभुती गराउनु महत्त्वपूर्ण कदम हो तर नेपाल सरकार यस दु:खद अवस्थामा पनि भ्रष्टाचार गर्न लिप्त रहेको कुरा विभिन्न सञ्चार माध्यममा र जनस्तरमा व्यापक आवाज उठन थालेको तितो यथार्थ हाम्रा सामु छर्लङ्ग छ।’

उनले अगाडि लेखेका छन्, ‘देश संकटमा रहेको बेला नेपाली कांग्रेसले सरकारका गरेका राम्रो काममा सहयोग गर्नु पर्दछ। नेपाल सरकारको पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा लागायत स्वास्थ्य क्षेत्रमा विज्ञता हासिल गरेका दक्ष अनुभवी व्याक्तिहरुसग सरकारले परामर्श गरि अगाडि बढनु अहिलेको मुख्य आवश्यकता हो। यस परिस्थितिमा यो वा त्यो वाहाना मध्यावदी निर्वाचनको कुरा उठाउनु यस्ले कदापि जनता सामु राम्रो सन्देश जान सक्दैन।’

नेता कर्णले नेपाली कांग्रेसले महामारीमा आफूलाई इमान्दार र पारदर्शी हिसाबले सक्रिय हुन सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको पार्टी नेतृत्व प्रत्येक राष्ट्रिय मुद्दामा कति पनि विचलित नभई आफुलाई पारदर्शी तवरबाट अगाडी बढाएर जनताको पक्षमा अझ अनवरत रुपमा आवाज बुलन्द पार्दै अगाडी बढ्न आदरणीय पार्टी सभापति लगायत नेतृत्व वर्गलाई हार्दिक अनुरोध गर्दछु।’