मोहम्मद शहिद अली
इस्लाममा महामारीको अवस्थामा जुन स्थानमा छौ त्यही स्थानमा अर्थात् क्वारेन्टाइनमा बस्न हुकुम रहेछ। ठूलो पानी आउँदा हाम्रा अन्तिम संदेष्टाले घरमा नै नमाज़ पढ्न आदेश दिनु भएको रहेछ।
सरुवा रोगी अरूबाट टाढा रहनु र अरू पनि रोगीको नजिक नजानु सामाजिक दूरी क़ायम गर्नु भन्ने पनि निर्देशन दिनु भएको रहेछ। तर, मस्जिदमा नै नमाज पढ्ने हुज्जत गरेर प्रहरी प्रशासनलाई मस्जिद बन्द गराउँने सम्मको वातावरण बनाएर हामी गुनाहगार बन्दैछौं। सरियतको ग़लत व्याख्या गरेर सिंगो समुदायलाई समस्यामा नपारौं।
हदिसका अनुसार यस्तो माहामारीको अवस्थामा अल्लाह अज्ज व जल्लसँग पूर्ण विश्वास र, भरोसा राख्दै क्वारेन्टाइनमा बस्ने, यसरी बस्दा माहामारी रोगका कारण मृत्यु भएमा सहिदको स्थान प्राप्त हुने रहेछ। तर, हामी घरबाट निस्कन हुलमिचाइ गर्दैछौं। जबकि राज्यले ननिस्कन निर्देशन जारी गरेको छ।
मस्जिदमा अजान दिनुस्, प्रहरी प्रशासनले बल प्रयोग गरेर बन्द गराउनु पर्ने वातावरण सृजना नगराउनुस्। नमाज़ क़ायम राख्नुस्। तर, पाँच जनाले मात्र, त्यो पनि सामुदायिक दुरी बनाएर नमाज़ पढ्नुस्। राज्यको निर्देशन पूर्णरूपले पालना गर्नुस्।
अहिलेलाई कुनै पनि धार्मिक कार्यक्रम नगरौं। पूर्व निर्धारित कार्यक्रम भए त्यसलाई अविलम्व ख़ारिज गरौं। यस्तै धार्मिक कार्यक्रमका निमित्त विदेशी पाहुना आएका छन् भने स्थानीय प्रहरी प्रशासनको सहयोग सल्लाह अनुसार उनीहरूको उचित व्यवस्थापन गरौं। आफ्नो ज़िम्मेवारीबाट न भागौं।
भारत वा अन्य तेस्रो मुलुकबाट भर्खरै नेपाल कोही आउनु भएको छ भने तुरून्त क्वारेन्टाइनमा राखौं। हामीले धोका राज्यलाई हैन आफू, आफ्नो परिवार र, समाजलाई दिएका छौं भन्ने हेक्का राखौं।
उपचार टोली, प्रहरी प्रशासन कोही हाम्रो घर टोलमा आएका छन् भने उहाँहरूलाई सहज वातावरण बनाएर सहयोग गरौं। मदर्सा वा होष्टेलमा ठूलो सँख्यामा विद्यार्थी छन् भने यस कुराको जानकारी अविलम्व सम्बन्धित निकायलाई दिएर राज्यलाई सहजीकरण गरौं। इस्लामलाई आँच आउने कुनै पनि कार्य नगरौं। सभ्य नागरिकको परिचय दिउँ। आफू पनि बचौं, अरूलाई पनि बचाआैं। यस संकटको घडीमा राज्यलाई पूर्णरूपले सहयोग गरौं।