नेपाल कोरोनाको दोस्रो चरणमा प्रवेश



काठमाडौँ। नेपाल कोरोनाको दोस्रो चरणमा प्रवेश गरेको छ । सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको हो।
संक्रमित हुनेहरुमा २१ र ४१ वर्षीय पुरुष र ३५ वर्षीया महिला रहेका छन्।

मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। यस्तै कैलालीकी ३४ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ। ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ।

यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। चैत २ गते कञ्चनपुरको वेदकोटबाट ४१ वर्षीय ती पुरुष भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका थिए।

उनीसँग काम गर्ने ११ जना एउटै टेण्टमा बस्थे । सबैजना रातिमा लाइनसँग सुत्थे। उनीहरुको पकाउने चुल्हो समेत एउटै रहेको पाइएको छ। विश्वभर कोरोनाको महामारी फैलिएसँगै त्रासले गर्दा नेपाल फर्किने सोच बनाए। कोरोनाको त्रास फैलिएसँगै उनी चैत १३ गते अवैध बाटो हुँदै नेपाल आइपुगे।

महाकाली नदीबाट ट्युब तरेर नेपाल प्रवेश

ती पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका पाइएको छ। अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो। लगत्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनास्थित गडाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

त्यसपछि…

सशस्त्र प्रहरीले त्यसपछि ती पुरुषलाई गड्डाचौकीबाट बेदकोट गाउँपालिका–९ लालपुर गाडीमा हालेर पठाइएको प्रहरीले जनाएको छ। सोही दिन राति १० बजे उनीसहित अन्य ९ जनालाई सुन्दरपुरमा रहेको क्वारेन्टाइन घरमा राखेर खाना खुवाएको पाइएको छ।

बेदकोट नगरपालिकाले बनाएको त्यही सुन्दरपुर क्वारेन्टाइनमा उनलाई राखिएको थियो। अवैध बाटोमार्फत नेपाल आएको खबर थाहा पाउनेबित्तिकै काठमाडौँस्थित छाउनीबाट नेपाली सेनाको मेडिकल टिमले उनको स्वाव परीक्षणका लागि ल्याएको थियो।

परीक्षणको क्रममा ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखियो। स्वास्थ्य मन्त्रालयले आज मात्र ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो।

कोरोना पोजिटिभ देखिएका ती पुरुषलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा एम्बुलेन्समा राखेर लगिएको थियो । हाल उनको उपचार भइरहेको छ। भारतबाट आएका अन्य व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ।