‘पद र पैसाको लोभले हामीलाई कम्युनिष्ट त के मान्छे पनि बन्न दिदैन’ (भिडियोसहित)



काठमाडौँ। सत्तारुढ नेकपाका प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले अनेरास्ववयूभित्र पूर्व समूहको खोजि गर्दै जाने हो भने त्यसले कसैलाई पनि फाइदा नगर्ने दाबी गरेका छन्।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बिहीबारदेखि सुरु गरेको ‘सार्वजनिक वहस’ नामक फेशबुक लाइभ कार्यक्रममा बोल्दै नेता न्यौपानेले यस्तो दाबी गरेका हुन्। उनले सरकारले हाल गरिरहेका काम कारबाहीका बारेमा पनि प्रश्न उठाएका छन्। कोरोनाका विरुद्ध लड्नका लागि सरकारले थालेका तयारीहरु हल्का र अपुग रहेको भन्दै क्वारेन्टाइन मात्रै अचुक उपाए नभएको समेत दाबी गरे।

नीजि मेडिक, नीजि स्कुललगायतका विषयमा वैचारिक रुपमा आलोचना र विश्लेषण गरेका न्यौपानेले अखिलमा आवद्ध नेता तथा कार्यकर्ताका अभिव्यक्तिलाई नजिकबाट नियाली रहेको स्पष्ट पारे।

उनले भने, ‘नेता औपचारीक र अनौपचारिक दुवै दृश्य हो। त्यसैले आफ्ना अभिव्यक्ति दिदा अथेन्टीक अभिव्यक्ति दिनुपर्छ। विद्यार्थी आन्दोलनमाथि आलोचनाहरु थपिदै गएका छन्। यसका कारण र विषयका बारेमा वहस हुन आवश्यक छ। नयाँ विषय उठाउनु पर्नेछन्। हिजोका दिनमा विद्यार्थी आन्दोलन निकै लोकप्रिय थियो। आजका दिनमा किन यसरी आलोचनाको सिकार भयो ? यसका बारेमा निर्मम भएर सोच्नुपर्छ। उत्तेजित नबनौं। वस्तुगत तर्क गरौं। पूर्व खेमाको मनस्थिति हटाऔँ। वस्तुनिष्ठ आलोचना गरौं भन्ने मेरो सुझाव छ।’

कम्युनिष्ट पार्टीको नेता तथा सदस्यका नाताले समाजमा हिड्न मुस्किल पार्ने काम भइरहेको भन्दै पार्टीका गतिविधिमाथि प्रश्न खडा गरेका न्यौपानेले समाजवादका बारेमा बोल्नुभन्दा पहिले नेकपा पार्टी कुन पार्टी हो ? त्यसको परिभाषा प्रष्ट हुनुपर्ने धारणा राखेका छन्।

गत माघमा सम्पन्न नेकपा केन्द्रीय समितिको वैठकमा नेकपाका नेता तथा कार्यकर्ताको सम्पत्ति छानविन गरिनुपर्छ भन्ने प्रस्ताव गरेका नेता न्यौपानेले पद र पैसाभन्दा विचार र इमानलाई ख्याल गर्न अनुरोध गरे।

पहलो पटक सामाजिक सञ्जाल फेशबुकमा लाइभमा आएको बताउँदै नेता न्यौपाने भने, ‘हामी पद र पैसालाई पहिलो लक्ष्य बनाउनमा व्यस्त छौं। पैसा र पदले हामीलाई कम्युनिष्ट त के मान्छेसमेत बन्न दिँदैन। क्वारेन्टाइनको समयमा पढौं। अबको समयमा नपढेर नेता बन्न सकिदैन। मेरो भनाई क्याम्पस गएर चिट चोरेर मार्कसिट बनाउने भनेको होइन। हामीले भौतिकवादी दृष्टिकोणबाट जीवन र जगतलाई पढ्न सक्नुपर्छ। समाज र इतिहास पढौं। मार्क्स र लेनिनलाई पढौं। उहाँहरुको बायोग्राफि पढौं। त्यसले हामीलाई वैचारिक ज्ञान दिन्छ।’