काठमाडौँ। धादिङ र रुकुम पश्चिममा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको हो। तीन जना घइते छन्।
मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।
चट्याङमा परेर खनियाबास गाउँपालिका–२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएकी छन्। थलीमा परेको चट्याङले दुई घरमा क्षति पुगेको छ। चट्याङका कारण गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानाकारी दिए।
दिउँसोको समयमा परेको चट्याङका कारण सोही गाउँपालिका–२ क्यूङ निवासी आसमाया तामाङ घाइते भएकी छन्। सबै घाइतेको गाउँमा रहेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
उता, रुकुमपश्चिममा पनि चट्याङ लागेर बुधबार एकको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–४ मा चट्याङ पर्दा मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको हो।
चट्याङ लागेर अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताए। उनका अनुसार बेलुकी साढे ६ बजेतिर स्थानीय गङ्गाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको थियो। चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता विक भने गम्भीर रहेको प्रहरीले जनाएको छ। रासस