काठमाडौँ। नायिका रेखा थापाले मातृभूमिमा पुग्न हप्तौं हिडेर सीमासम्म आईपुगेका नेपालीहरुको उद्धार गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार सामाजिक सञ्जाल फेशबुक मार्फत नायिका थापाले यस्तो माग गरेकी हुन्। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न र बचाउनका लागि निरन्तर सचेतना सन्देश दिइरहेकी नायिका थापाले पछिल्लो समय सीमासम्म आइपुगेका नेपाली मज्दुरहरुका पीडाका बारेमा बोलेकी छन्।
आफ्नो देश सम्झेर सीमासम्म आएका नेपालीहरुको उद्धार गरेर निगरानीमा राख्न सरकारलाई सुझाव दिएकी छन्। किसान र मजदुरहरुको अवस्थाप्रति बेखबर बन्न नहुने भन्दै सरकारलाई कर्तव्यवान बन्न आग्रह गरेकी छन्।
उनले लेखेकी छन्, ‘आर्थिक बाध्यताका कारण देशमा श्रम र रोजगारीको अवसर नपाएर बिदेसीन वाध्य लाखौं नेपालीहरु हुनुहुन्छ। खास गरी नेपाल भारतको सिमानामा आएर आफ्नो देशमा छिर्न पाउ भनेर नारा लगाइरहनु भएका आदरणीय दाजुभाई दिदीबहिनीहरुको रोदनले मुटु छोएको छ। आफ्नै देश प्रवेश गर्न पाउने अधिकार यो बेला खोसिएको सन्दर्भमा आक्रोश र संरक्षकको अभाव कती पिडादायी होला। यताको पनि उस्तै प्राविधिक बाध्यता होला। तर, आएर क्वारेण्टाइनमा बस्छौ, जहाँ बसाल्यो त्यही बस्न तयार छौं भन्दा पनि आउन नदिनु भनेको व्यवस्थापनमा समस्या हो।’
नायिका थापाले अगाडि लेखेकी छन्, ‘युरोप, अष्ट्रेलिया, अमेरिका, खाडी राष्ट्रमा रहेका हाम्रा आफन्तहरु सुरक्षित रहनुहोला भन्ने कामना शिवाय अरु केही भन्न सकिन्न। बिदेशका नागरिक नेपालबाट जहाज चार्टर गरेर फर्केको खबर सुन्दा खिन्न लाग्छ होला। तर, यहाँ हालत यस्तै छ। कसलाई गुनासो गर्नु, गरेर हुन्छ नै के ? कम्तिमा भारतको सयौ किलोमिटर भोकै नाङ्गै हिंडेर सिमा पुगेकालाई वारी ल्याएर सेना प्रहरीकै क्याम्पमा राखेर दालभात दिदा, २५ दिन राख्दा पनि हुन्थ्यो होला। सकिन्छ भने बेसहारा बन्न नदिने व्यवस्था गरौं। परेको बेला देशले सम्झेन भने नपरेको बेला राष्ट्रियताको भाषाणले केही फरक पार्दैन। श्रमिक र मजदुरको मन दुखाउनु हुँदैन।’
’