राज्यको पहिलो जिम्मेवारी मानवीय व्यवस्थापन नै हो: लक्ष्मण बम


लक्ष्मण बम ‘पलाँति कान्छा’

आज विश्व कोराना भाईरसका कारण कम्पएमान भएको छ। यो अचेत बाहेक सचेत नागरिक सबैलाई थाहा छ। यहाँ विश्वका सबै सञ्चार माध्यमहरु यसैमा केन्द्रीकृत भएर सबैलाईसचेत गराइ रहेका छन्।

कसैले जीवनको प्रवाह नगरी समाज सेवामा लागेका छन्। कसैले बाध्यता र मानवीय नाताले लाग्नु परेको छ। यो सन्नाठा छाएको बेला कतै आत्महत्या, त कतै जिम्मेवारीबाट पलाएनका कुराले पनि त्यत्तिकै अत्याई रहेको खबर झन जनमानसमा त्रासको राज भैरहेको छ।

ईतिहासका हरेका कालखण्डमा यस्ता माहामारी बिपत नआएका होईनन्। इतिहासका पानाहरु पल्टाउने हो भने, सन् १७२० मा प्लेग नामक माहामारीबाट विश्वमा १ करोड २५ लाख मानिसले ज्यान गुमाएका थिए। त्यस्तै १८२० मा कोलेरा नामक माहामारीबाट १ लाखको मृत्यु भएको थियो। सन् १९२० मा स्पेनिस फ्लूबाट पाँच करोड मानिसले ज्यान गुमाएका थिए।

प्रकृतिको एक खेल हो। फेरी इतिहास निहाल्दा कुनै पुरै सजिव प्राणी नष्ट भएको पनि भेटाउन सकिन्छ। हाम्रै अगाडी डाइनोसर विश्वबाट लोप भयो। कुनै माहामारी आउँदा मानव जातिमा पुर्ण रुपमा क्षति भएको पनि त छैन। कुनै बेलाको माहामारीले औसत क्षेत्रबाट हराएको पनि छ। बिपत र माहामारीलाई हेल चक्राई चाहिँ बिल्कुलै गर्नु हुँदैन।

बिगतको पाठबाट हामीले सिक्नुचाही पर्छ। हिजो कोही जंगल त केहि ओढारमा लुकेर माहामारीबाट बचेको हामीले अध्ययनबाट थाह पाएका छौं। तर, यस्को नाममा आजको परिबेशमा हिजोको शैली अपनाएर बाँच्न सकिँदैन। किन कि समय धेरै अगाडि बढि सकेको छ। सरोकारवालाले गरेको अनुरोध अपनाएको बिधिमा रहनु आजको आवश्यकता हो।

आफू बाच्नु र अरुलाई बचाउनु नै यस कोरोनाविरुद्धको लडार्इ जित्नु हो। यसभन्दा अगाडिका विपत्तिहरुमा मानिस यस प्रकारको माहामारी भोग्नु परेका थिए। यहाँ लडाईका लागि प्रयोग गर्न दिएका सम्पूर्ण औजार प्रयोग गर्ने र उच्च सतर्कता अपनाएर प्रतिरोध गर्न सके विजय असम्भव छैन र हुँदैन। आज जो कोहीले सरकार र सरोकारवालाले अपनाउन भनेका कुरा र सञ्चार माध्यमले त्यस्तै विश्व स्वास्थ्य संगठनले तोकेका उपाएहरुलाई अक्षरस पालना गर्नु नै हाम्रो दाइत्व र जिम्मेवारी हो।

यो नियम पालना गर्न लगाउने सरोकारी निकायबाट जो कोही नागरिकले सरकार र सरोकारवालाको अनुभूति गर्न पाउनुपर्छ। जब संकट आउँछ त्यति बेला सबै क्षेत्रको उत्तिकै महत्त्व हुन्छ। त्यसमा जिम्मेवार निकायनै अभिभावकत्वबाट बिचलतित हुनु हुँदैन। यदि यो मौका गुमाइयो भने त्यस्को कुनै अस्तित्व हुदैन। आफ्ना नागरिकप्रति बफादार नहुने राज्य हुनु र नहुनु अर्थ रहदैन।

जस्तो कक्षा कोठामा पढेका र निरन्तर विद्यालय आउने विद्यार्थीको पनि अन्तिम मुल्यांकन परिक्षामा गरिन्छ। हो तयस्तै अभिभावको मुल्यांकन संकटमा गरिन्छ। नागरिकहरुका लागि सरकार अभिभावक हो। त्यसैले सरकार अग्नि परिक्षाको घडिमा छ। आफ्नो सक्रियता तीव्र गतिले अघि बढाएकै छ। पहल कदमी गरेकै छ सबैलाई थाहा छ सबैको इच्छा चाहाना एकै चोटी पूरा गर्न सक्ने अवस्थामा सरकार छैन। किन कि कसैका माग असिमित छन्। हाम्रो मुलक ठूलो लडाईपछि लगत्तै भुकम्पले थिलो थिलो पारेर समालिन नपाउदै यो माहामारिको सामाना गर्नु परिरहेको छ।

यहि बीचबाट पनि बिचल्लीमा परेका नेपाली नागरिकहरुको बारेमा सोधि खोजी गर्नु र उनीहरुको व्यवस्थापन गर्नु पहिलो जिम्मेवारी सरकारकै हो। हाम्रो देशका नागरिक बिदेशका गल्ती नचाहारी पेट पाल्न सक्ने अबस्था अहिले पनि छैन। देशभित्र र बाहिरका नागरिकको यो बेला चासो चिन्ता र ब्यबस्थापन उत्तिकै हुन जरुरि छ।

यो भन्दै गर्दा कुनै चासो देखाको छैन भन्ने होइन। तर, भन्सारमा किन बिचल्ली छ ? अनि भारतका ठाउँ ठाउँमा घरबाट निकालिर सठकको पेटिमा बाँस बस्न बाध्य भएका खबर उत्तिकै आएका छन्। यस्को लागि जति सक्दो चाँडै पहल हुन जरुरी छ। त्यस्तै विश्वका अन्य मुलुकमा रहेको नेपाली मजदुर र नेपाली नागरिकहरुको अवस्थाका बारेमा सरकार अपडेट हुनैपर्छ। सिमाभित्र हामीले आउन नदिने र भारतले पसु सरहको व्यवहार गर्ने हो भने न छिमेकी असल हुनसक्छ न त हाम्रो सरकारले अभिभावकत्व ग्रहण गरेको मानिन्छ।

मेरा जनता कतै अलपत्र परेर व्यवस्थापन गर्न नसकी सडकको पेटिमा भोकभोकै मर्ने अवस्था भए के सरकार समालिरहन सक्छौ त ? हाम्रो नैतिकताले सरकार समाल्न दिन्छ त ? हामी जनसरकार हो भनेर जनताका अगाडि मुख देखाउने ठाउँ रहन्छ त ? यी यावत चुनौति छन्। चुनौती र असहजताबाट सरकाले भाग्न मिल्छ ? त्यसैले यस्तो माहामारीमा आफ्ना नागरिकले आफ्नो सरकार र राज्य छ भने आभास गर्न सकुन भन्ने नै हो। नेपाली नागरिकहरु अलपत्र परेका छन्। उनीहरुको बारेमा छिमेकी मुलुकसँग कुटनीतिक पहल कदमी गरेर उद्धार गर्ने र कति दिन क्वारेन्टाइनमा राख्नुपर्छ नेपाली भूमिलाई ल्याएर राख्नुपर्छ। सिमानामा पुगेकालाई कुनै रोक बिना कुनै छुट्टै ठाउँमा व्ग्यवस्थापन गर्नुपर्छ। देशभित्र पनि अमानविय तरिकाले कोठाबाट निकाल्ने र बेसाहारा बनाउने खबरले सनसनि फैलाएको छ। यस्को पनि चाँडो व्यवस्थापन गर्नुपर्छ।

हाम्रो पालिकाले बाहिरको नागरिकलाई आफू सरह सम्मान जनक राख्न सक्छौं। अन्य पालिकाले पनि उत्तिकै जिम्मेवार भएर व्यवस्थापन गर्न जरुरी छ। देशभर छरिएर रहेका पालिकाले पलाँताको नागरिकलाई व्यवस्थापन गरिदिए बापत सम्पूर्ण शुल्क तिर्न तयार हुनेछौं। यो बातावरण संघीय सरकारले तयार गरिदिनु पर्नेछ। हाम्रो पहल कदमीले नपुग्ने देखिन्छ।

यो बेला नागरिकभन्दा सरकार नै बढि जिम्मेवार हो। मास्क र साबुनले मात्र सरकारको अनुभूति हुँदैन। यहाँ पहिलो कुरा मानवीय व्यवस्थापन हो। कोरोनाभन्दा अन्य कारण नागरिकहरुले ज्यान गुमाउने अवस्था नआओस्। यस्मा कोही नचुक्न आग्रह गर्दटु। यदि सरकारलाई धिक्कार्दै सीमानाबाट रुदै भारत तर्फ फर्केका नेपालीहरुका आँसुले धिकार्ने छ। इतिहासले क्षमा दिने छैन। हामी सबैले आज लडाईमा तयार रहनुपर्छ र यस्को व्यवस्थापनको जिम्मा सरकारले लिन्छ र लिनुपर्छ। कारोना र लकडाउनको बाहना देखाएर आफ्ना नागरिकहरुको उद्धार गर्ने दायित्वबाट भाग्न राज्यले मिल्दैन।