सरकार दायित्व र कर्तव्यबाट भाग्न मिल्छ?



काठमाडौं। नेपाल प्रवेश गर्ने अनुमति नपाएपछि भैरहवाको सुनौली सीमा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका सयौं नेपाली अन्ततः मंगलबार साँझ रुदै भारततर्फ लागेका समाचार आएका छन्।

उनीहरुलाई भारतीय सुरक्षाकर्मीको ठूलो समूहले दशगजा सिमानामा आएर चार–पाँच वटा बसबाट साँझ ६ बजेतिर भारततर्फ नै फर्काएको थियो। दशगजा सिमानामा सोमबार रातिदेखि धर्नामा बसेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपाल र भारत सरकारबीच अर्को निर्णय नहुञ्जेल व्यवस्थित रुपमा क्वारेन्टाइनमा राखिने प्रतिबद्धता जनाउँदै भारततर्फ फर्काएका थिए।

दशगजामा रहेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले भारत फर्किन अनेक आग्रह गर्दा त्यहाँ खटिएका नेपाली सुरक्षा अधिकृतहरुले यसबारेमा माथिल्लो स्तरमा छलफल जारी रहेकाले कतै नजान भन्दै सुरुमा सल्लाह दिए पनि अन्तिममा भारत फर्कनका लागि दबाब दिएका थिए।

भारतीय र नेपाली सुरक्षाकर्मीले उनीहरुलाई भारततर्फ फर्कनका लागि दबाब दिँदा भने त्यस क्षेत्रको अवस्था निकै कारुणिक र विरक्तलाग्दो थियो। ‘बरु हामी यही दशगजामा भोकै बसेर मर्न तयार छौं तर भारततर्फ जाँदैनौं,’ दशगजा सिमानामा बसेका नेपाली सामूहिक रुपमा चिच्याउँदै बिन्तीभाउ गर्दै थिए, ‘हिजो हामीलाई भारतमा बस्न नदिएर नेपाल आउन बाध्य बनाइएको थियो।’

दुवैतर्फ सुरक्षाकर्मीले दशगजाबाट उठेर भारततर्फ जान बाध्य बनाएपछि कैयौँ नेपाली रोएका थिए। केही भने आक्रोशित हुँदै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै थिए। कतिले आफूलाई नेपाली नागरिक भन्नसमेत लाज लाग्ने वातावरण नेपाल सरकारको तर्फबाट भएक भन्दै आक्रोश व्यक्त गर्दै थिए। केहीले विपत्मा परेका आफ्नै नागरिकलाई नेपाल सरकारले उद्धार गर्नुको सट्टा भारततिर धकेलेर आफ्नो दायित्वबाट पन्छिएको आरोप लगाएका थिए।

त्यस्तै महाकालीमा पनि उस्तै हालत छ। भारतीय पक्षले करिब ६ सय जना मज्दुरलाई सीमा पारी खाने र बस्ने ब्यवस्था मिलाएको छ। तर, त्यो ब्यवस्थापन निक्कै दयनीय र पिडाबोध छ। कोरोनाको कारण देखाएर आफ्ना नागरिकको दुखप्रती कर्तव्य बिमुख हुन सरकारले कत्तिको मिल्छ?