क्वारेन्टाइनमा पुगेर कांग्रेसका नेता शाहीले गरे राहत वितरण



जुम्ला। नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले जिल्लाको हिमागाउँपालिका विभिन्न स्थानमा राहत वितरण गरेका छन्।

२०७४ को स्थानीय निर्वाचनमा हिमा गाउँपालिका अध्यक्ष पदका प्रत्यासीसमेत रहेका शाहीले गाउँपालिकामा निर्माण गरिएका चारवटा क्वारेन्टाइनमा पुगेर व्यक्तिगत खर्चमा रातह वितरण गरेको जानकारी दिएका छन्।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट मुलुक लकडाउनको अवस्था छ। विश्वमा उक्त रोगबाट करिब ४० हजार मानिसले ज्यान गुमाइ सकेका छन्। मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिमा गाउँपालिकामा रहेका ४ वटा क्वारेन्टाईन स्थल, राहादेब मावि,मोफ्ला, कालिका मावि बड्की, भानु मावि पातरखोला,भैरब आधारभुत विद्यालय जोगीबाडामा पुगेर क्वारेन्टाईनमा रहेका दाजुभाईहरुलाई मेरो व्यक्तिगत तर्फबाट खाद्यान्न चामल, दाल, नुन, तेल, चिनी, चियापति, डिटोल साबुन, मास्कलगाएत सामग्री मिति २०७६/१२/१८ गते नेपाल शिक्षक संघ जुम्लाका अध्यक्ष गजबहादुर शाही, नेपाल शिक्षक संङ्गठनका केन्द्रीय सदस्य खम्बा शाही नेपाली कांग्रेस हिमा गाउँपालिकाका उपसभापति जयनाथ योगीलगाएत समाजसेवि, वुद्धिजिवीको उपस्थितिमा वितरण गरियो।’

कोरोना भाइरस मानिसबाट मानिसलाई सर्ने सरुवा रोग भएको कारण उक्त रोगबाट बच्न केही समयका लागि घरमै रहन नेता शाहीले आग्रह गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘हाम्रो सनातनदेखि चलिआएको संस्कार अनुसार नै सबैलाई नमस्कार गर्दै भन्छु, कोरोना भाइरसलाई पराजित गर्नका लागि घरमै बसौं। खेलाचीं नगरौं। संसारलाई कोरोना भाइरसले कसरी भयावह बनाइरहेको छ भन्ने कुरा त कोरोना भाइरसको संक्रमणबाट प्रत्येक दिनको बढ्दो मृत्युदरले देखाएकै छ। हामी सबै सुरक्षित रहौं। यस दुःखको घडिमा सरकारको लकडाउनको पुर्ण पालना गरौं।’

रोजगारका लागि भारतमा गएका नेपालीहरु पछिल्लो समय भारतमा कोरोना फैलिएका कारण स्वदेश फर्केका छन्। भारतमा रहेको रोजगार छोडेर जुम्ला पुगेका जुम्लाबासीहरु अहिले विभिन्न समस्यासँग लडिरहेका छन्। उक्त जनताको दुःखमा केही सहयोग पुगोस् भनेर राहत वितरण गरिएको नेता शाहीले कर्णाली सन्देशलाई जानकारी दिए। केही समय पहिले नेता शाहीले जुम्लामा निःशुल्क मास्क पनि वितरण गरेका थिए।