बंगलादेशमा डाक्टर पढिरहेका विद्यार्थीले भने ‘कोरोनाविरुद्ध लड्न तयार छौँ, सरकार उद्धार गर’



काठमाडौँ। बंगालादेशमा डाक्टर पढिरहेका विद्यार्थीहले विश्वमाहामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ का विरुद्धको युद्धमा होमिन चाहेको बताएका छन्।

नेप्लिज मेडिकल स्टुडेन्टस एसोसिएसन, बंगलादेशका अध्यक्ष नविन यादवले कर्णाली सन्देशसँगको कुराकानीमा कोरोना विरुद्धको युद्धमा होमिन चाहेको बताएका हुन्। साथै उनले विश्वमा छरिएर रहेका र असहजातामा परेका नेपालीहरुको सरकारले उद्धार गर्नुपर्ने माग गरे।

उनले भने, ‘हामीले हाम्रो नेपाल सरकारले गरेका हरेका निर्णयहरु हेरिरहेका छौँ। तर, सरकारले देशभित्रका समस्याहरु र नागरिकका लागि मात्रै बोलेको जस्तो देखिन्छ। विदेशमा रहेर देशलाई योगदान दिएका लाखौ नेपालीहरुका बारेमा पनि सरकार गम्भीर हुनुपर्छ। उद्धारमा खटिनुपर्ने बेला भएको छ। बंगलादेशमा विभिन्न मुलुकका विद्यार्थीहरु चिकित्सा शिक्षा पढ्न आएका थिए। उनीहरुलाई सम्बन्धीत देशहरुले उद्धार गरिरहेको छ। तर, हाम्रो बारेमा सरकारले कुनै पनि कुरा बोलेको छैन। तर, हामी हेल्थ सेक्टरका विद्यार्थी भएका नाताले हाम्रै देशमा फर्किएर देशलाई सहयोग गर्न चाहन्छौं।’

स्मरण रहोस् बंगलादेशमा चिकित्साशिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले भूकम्पका बेलामा पनि ठूलो सहयोग गरेका थिए। अध्यक्ष यादवसँग गरिएको कुराकानीको सम्पादीत अंश:

‘हामीले चिकित्सा शिक्षा हाम्रो समाज र देशलाई सेवा गर्नका लागि पढिरहेका छौ। महामारीले सारा देश पिरोलिरहेको यस दयनीय अवस्थामा बिदेशमा घरभित्र Lock Down भएर बस्न यो मनले मानिरहेको छैन। हामी कोरोना बिरुद्धको यस लडाइमा सहभागी हुन चाहन्छौँ। आफुले सिकेको शिप र ज्ञानले यस बखत देशका जनताको सेवा गर्न चाहन्छौँ।

PPE (Personal Protective Equipment) को व्यवस्था गर सरकार, हामी अहोरात्र खट्न तयार छौँ। हामी अहोरात्र लड्न तयार छौ। यत्रो दिन हामीले नेपाल सरकारको निर्णयलाई समर्थन गर्यौ। त्यसैले पनि उद्धार गर्नका लागि हामीले कुनै अवाज उठाएनौँ। तर, आज सरकारले घोषणा गरेको पहिलो लक् डाउनको अवधि सकिदैछ र र फेरि एक हप्ताको लागि थपिएको छ।

तर, अझै पनि सरकारले बिदेशमा फसेका आफ्ना नागरिकलाइ स्वदेश फर्काउने तत्काल कुनै योजना नरहेको भन्नु कति सम्म न्यायसंगत् कुरा हो ? प्राय जसो रास्ट्रले आफ्ना नागरिकहरुलाइ स्वदेश फर्काइसकेको र फर्काउदै गरेको अवस्थामा नेपाल सरकारको तयारी एवं व्यवथापन चित्त बुझ्दो देखिएन। बिगत १२ दिन देखि हामि कलेज हस्टेलमै self Quarantine मा बसिरहेका छौँ। सबै कलेजका हस्टेलहरुमा प्राय नेपाली विद्यार्थीहरुमात्र बाँकी रहेका छौँ।

चिकित्षा शिक्षाको विद्यार्थीहरु भएकाले कोरोना भाइरसको सक्रमण एवं रोकथामका बारेमा हामी सचेत छौ। र यो बखत हामीले हाम्रो समुदायमा आफ्नो योगदान दिन सक्छौ। तसर्थ उद्धारका लागि यथाशिघ्र पहल गरिदिन नेपाल सरकारलाइ बिनम्र अनुरोध गर्दा छौ। नेपाल आउनु अघि हामी Screening गरेर आउछौँ। नेपाल फर्किसकेपछि पनि हाम्रो Screening होस्।

नेपाल सरकारले Quarantine मा राख्ने व्यवस्था गरेको छ भने हामी त्यहाँ बस्न तयार छौँ। यदि सरकारको तयारी भएको छैन भने पनि हामीले हाम्रो आफ्नो घरमै आफ्नो परिवारबाट छुटीएरै बेग्लै कोठामा self Quarantine मा बसी स्थानीय निकाय एवं प्रशासनलाइ हाम्रो दैनिकी अवस्थाबारे आफै जानकारी गराएर बस्छौ। यसमा हामीले सरकारको निर्देर्शन पालना गर्न तयार छौँ। यस घडीमा हामीलाई स्वदेश फर्कन जति आवश्यक छ त्यो भन्दा बढी हाम्रो आवश्यकता हाम्रो देश र हाम्रो समाजलाई छ।

उच्च जनघनत्व भएका कारण बंगलादेश कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई अवगत नै छ। परिक्षण गर्नका लागि चाहिने Medical Equipments,Testing Kits पर्याप्त मात्रामा नभएको कारण बंगलादेश सरकारले सार्बजनिक गरेको कोरोना भाइरसको संक्रमित संख्याको तथ्यांकलाई सटिक मान्न सकिन्न। विश्व स्वास्थ्य संगठन (WHO) ले पनि बंगलादेश सरकारलाई यसबारे सचेत गराउदै आएको छ। यस्तो अवस्थामा विद्यार्थीहरुले भोग्नु परेको मानसिक एवं पारिवारिक तनावको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण होस्।’