कारोनाको आशंकामा ज्यान गुमाएका पाँच जना, जसले मृत्युको कारण थाह पाएनन्



काठमाडौँ। विश्व यतिबेला कोभिड-१९ का विरुद्धमा युद्ध लडिरहेको छ। आर्थिक मन्दीको चरमचुलीमा उक्लिदै छ। सन् २०१९, डिसेम्बरको अन्तीमतिर चिनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसबाट विश्वमा करिब ३५ हजार मानिसले ज्यान गुमाइसकेका छन्।

त्यस्तै करिब ८ लाख मानिस संक्रमित बनेका छन्। यो समाचार तयार गर्दाको समयसम्म नेपालमा कोरोना भाइरसको सामान्य प्रभाव परेको छ। पाँचजना कोरोना संक्रमित भेटिएका छन्। त्यस्तै कोरोना संक्रमणको आशंकामा अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ। अहिलेसम्म रिपोर्ट आएकाहरुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालय र सम्बन्धीत अस्पतालले जनाएका छन्।

दुः खको कुरा जतिले कोरोनाको आशंकामा ज्यान गुमाए तिनीहरुले समयमा उचित उपाचार पाएनन्। न त उनीहरुले समयमै खाने र बस्ने सुविधा पाए। न त उनीहरुले आफू के कारण अस्पतालको शैयामा मृत्युसँग लडिरहेको छु भन्ने जान्न पाए। कोरोना सम्बन्धि परिक्षण गर्ने जनशक्तिको अभाव र समयमै रिपोर्ट नआउनुले पनि उनीहरुले आफू कुन रोगसँग लडिरहेको छु भन्ने थाह पाउन सकेनन्।

यस्तो विडम्बनापूर्वक मृत्युको सिकार बनेकाहरु मध्ये एक जना ५० टेकेका थिए। अरु सबै ३५ वर्ष पुग्दै गरेका युवाहरु छन्। कोरोनाको आशंका गरिएपछि चिकित्सकहरु उपचारमा हिच्किनु र सरकारले चिकित्सकका लागि आवश्यक सामग्री उपलब्ध नगराउनु पनि उनीहरुको मृत्युको कारण भएको जानकारीहरु बताउछन्।

चितवन

चैत ११ गते चितवनको भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको थियो। लुपस भन्ने रोगबाट पीडित वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मिर्गौला कमजोर थियो। पछिल्लो समय ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए।

उनको स्वाब १० गते काठमाडौं पठाइएको थियो। तर कोरोना संक्रमण नभएको रिपोर्ट आएको थियो। १० गते दिउँसोबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा सारिएको थियो। र, उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

कास्की

१३ चैतमा १२ दिन पहिले भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको थियो। रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको १३ गते बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। नेपालीलाई रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो।

रुपन्देही

१६ चैतमा रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको थियो। बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको थियो। उनी चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए।

पाटन अस्पताल

चैत १७ मा लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ। धादिङ खनियाँवास घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो।

तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए। तामाङको सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले पुष्टि गरिन्।

यसैबीच पाटन अस्पतालका निर्देशक डा.विष्णु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि नभइसकेको बताए। उनका कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइनसकेको उनको भनाइ छ।

ती पुरुषमा ज्वरो अत्यधिक रहेपछि कोरोना भएको हो कि भन्ने आशंकामा परीक्षणका लागि नमुना पठाइएको निर्देशक शर्माले बताए। उनका अनुसार पाटन अस्पतालको आइसोलेनमा अहिले ३ जना कोरोना आशंका गरिएका बिरामी रहेका छन्।

वीर अस्पताल

१७ चैतमै वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ। वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो।

‘उनी भारतबाट यही साता नेपाल आएकी रहिछन्। यहाँ ल्याउँदा ज्वरो पनि थियो, सास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने, ‘हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ‌ं। यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो। ’ती युवती चन्द्रागिरि नगरपालिका १५ की हुन्।