काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण दिएको छ।
यद्यपि मन्त्रालयले केही महंगो परेको स्वीकार गरेको छ। मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणको पहिलो खेप आइतबार राति काठमाडौं ल्याएको छ। तर, एन ९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका छन्। अरु देशमा पनि सामानको अभाव रहेको भन्दै उनले भने, ‘केही महंगो भएको हुनसक्छ। तर समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो गर्नु भएन।’
लकडाउन सुरु भएलगत्तै मन्त्रालयले स्वास्थ्य सामाग्रीका सप्लायर्सहरुसँग छलफल गरेको र उनीहरु मध्ये दुईवटाले मात्र प्रस्ताव हालेको उनले जानकारी दिए। तर अहिले महंगो भयो, भ्रष्टाचार हुन लाग्यो भनिएको भन्दै उनले सरकारले किनेको र चीनका संघसस्थाले दिएको मूल्य तुलना गरे।
स्वास्थ्य सेवा विभागका प्रमुख श्रेष्ठले अघि भने, ‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ। यो भनेको करिव २ हजार रुपैयाँ पर्छ। हामीले १९१९ रुपैयाँमा सम्झौता गरेको गरेका छौं।’संसारभर अभाव रहेको भन्दै उनले यस्तो बेला सामान्य अवस्थाको मूल्यमा नपाइने बताए।