कालिकोटमा भारतबाट फर्किएका ५५ जना क्वारेन्टाइनमा



विश्वनाथ सिम्खाडा

कालिकोट। कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित संक्रमणबाट बच्न कालीकोटका चार स्थानीय तहका ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट मजदुरी गरेर घर फर्किएका सान्नीत्रिवेणी गाउँपालिकाका ३९, रास्कोट नगरपालिकाका ९, पचालझरनाका ७ र पलाँता गाउँपालिकाका २ जनालाई क्वारेन्टाइनमा राखिएको हो । कोरोनाको शंकास्पद लक्षण देखिएका बिरामीलाई राख्न कालीकोट अस्पतालमा चार वटा आइसोलेसन बेड निर्माण गरिएको छ।

चार दिनअघि कालीकोट र दैलेखको सिमाना दैखोलामा स्वास्थ्य सेवा कार्यालयको अगुवाइ तथा यहाँका नौ वटै स्थानीय तहको सहयोगमा स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको थियो। त्यसयता भारतबाट मजदुरी गरेर कालीकोट फर्किनेको संख्या दुई सय ३७ जना रहेको कालिकोट प्रहरीका डीएसपी श्यामबाबु ओलियाले बताए। भारतबाट घर फर्किएकाहरु सबैलाई क्वारेन्टाइनमा बस्न सल्लाह दिए पनि नमानिरहेका उनको भनाइ छ।उनका अनुसार सामान्य लक्षण देखिएका सबैलाई स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्न भनिएको छ। यहाँको सान्नीत्रिवेणी गाउँपालिकाले भारतबाट फर्किएका १८ जनालाई बिहीबारदेखि लुयाटास्थित विद्याज्योतिमा माविमा, १४ जनालाई डाँडाखेतस्थित कालिका माविमा र ७ जनालाई मुम्रास्थित डाँफे माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए। उनले भारतबाट फर्किएका सबैलाई १४ दिनसम्म परिवारबाट छुट्टै बस्न भनिए पनि अटेर गरेको सुनाए ।

पलाँता गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन समितिको बैठकमार्फत भारतबाट फर्किएका सबैलाई घरसम्मै खोजेर क्वारेनटाइनमा ल्याई राख्ने र त्यसका लागि खान, बस्न लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने निर्णय गरेको छ। ज्याला, मजदुरीको लागि यहाँका धेरै मानिस भारत जाने गरेका छन्। खीन र भौलागोहका प्रायः सबै घरका पुरुष मौसमी कमाइ गर्न भन्दै सीमापार जाने गर्दछन् ।

उक्त गाउँपालिकाले एक सय ८० बेड क्यारेन्टाइनको लागि तयार पारेको जनाएको छ। कोरोना रोकथामका लागि ६० लाख बजेट खर्च गर्ने निर्णय पनि गरेको छ । यसैगरी, खाडाचक्र नगरपालिकाले ७४, रास्कोट नगरपालिकाले एक सय, सान्नीत्रिवेणीले ६५, पचालझरनाले ४९, नरहरिनाथले ५०, शुभकालिका गाउँपालिकाले ४०, महाबैले ४१ र तिलागुफा नगरपालिकाले २० वटा गरी जिल्लाभर ६ सय १९ बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको छ।