चीन सामान्य अवस्थामा फर्कियो, ८० प्रतिशत व्यापारिक केन्द्र खुले



काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) बाट चीन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ।

यो भाइरस निस्किएको वुहान शहरमा शनिबारदेखि सब–वे सेवा सुरु भएको छ। बजार खुलेका छन् भने मानिसहरु बाहिर निस्किन थालेका छन् । ९ सातापछि हुबेई प्रान्तले लकडाउन हटाएको छ। यहाँका ५० प्रतिशत ठूला कम्पनीले आफ्नो काम सुरु गरिसकेका छन्। पूरा चीनमा ९० प्रतिशत ठूला कम्पनीले आफ्नो उत्पादन सुरु गरिसकेका छन्।

अझै पनि साना तथा मझौला कम्पनी भने अझै आफ्नो काम सुरु गर्न संघर्ष गरिरहेका छन् । तर, मुलुकभरका ८० प्रतिशत व्यापारिक केन्द्र खुलिसकेका छन्। लक्जरी ब्राण्डको स्टोर बाहिर मानिसको भीड देखिन थालेको छ । रेष्टुरेन्ट, होटल, पार्क र जिमहरु सञ्चालनमा आएका छन् ।

शुक्रबार चीनको सांघाईमा २०० भन्दा धेरै सिनेमा हल खोल्ने अनुमति दिइएको थियो । तर, त्यसको केही समयमा नै चीनको नेशनल फिल्म ब्युरोले मुलुकभरको सिनेमाहल बन्द राख्न आदेश दिएको थियो । यसको कारण भने बताइएको छैन ।

त्यसैगरी, कोरोना भाइरस पुनः मुलुकमा फैलिनबाट रोक्न चीनले विदेशीको प्रवेशमा रोक लगाएको छ । पछिल्लो समय चीनमा देखिएका अधिकांश मानिसमा कोरोना भाइरसको संक्रमण देखिएसँगै चीनले यस्तो निर्णय गरेको हो ।

विद्यालयमा कोरोनाको शिक्षा

चीनमा कोरोना भाइरसको कारण बन्द रहेका विद्यालय पनि खुल्न थालेका छन् । सबैभन्दा पहिला क्विङहाई प्रान्तमा मार्च ९ देखि विद्यालय खुलेका थिए । अहिले अन्य प्रान्तहरुमा पनि विद्यालय खुल्ने क्रम जारी छ । विद्यालयमा विद्यार्थीहरुलाई सुरक्षाको ज्ञान दिइने गरिएको छ । केही विद्यालयमा बालबालिकालाई नियमित तापक्रम परीक्षण गरिन्छ ।

अन्तर्राष्ट्रिय उडान: प्रत्येक देशमा एक सातामा एउटा उडान

इन्टरनेशनल एयरट्रान्सपोर्ट एसोसिएसनका अनुसार गत जनवरी २३ मा चीनमा लकडाउन भएपछि सबैभन्दा ठूलो गिरावट हवाई उद्योगमा देखिएको थियो । मार्च मध्यसम्म पाँच लाख उडान रद्द भएको थियो। त्यसयता भने हवाई यात्रीमा ५० प्रतिशत वृद्धि भइसकेको छ। आइतबारदेखि चीनबाट कुनै एक मुलुकका लागि सातामा एकमात्र उडान हुनेछ।

हेल्थ एप बिना प्रवेश निषेध

चीनमा हेल्थ एप बिना कोही पनि बाहिर निस्किन पाउँदैनन् । मल होस् वा अफिस जबसम्म एपमा क्युआर कोड स्क्यान हुँदैन, तबसम्म प्रवेश गर्न पाइँदैन । रेल, ट्याक्सी, बसमा पनि यो एप नभई यात्रा गर्न पाइँदैन । शरीरको तापक्रम बढ्यो भने एपमा चेतावनी आउँछ ।

एजेन्सी