भारतबाट आएका सबैलाई ‘क्‍वारेन्टाइन’ मा राख्‍न सरकारको निर्देशन



काठमाडौँ। कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले भारतीय सीमा हुँदै प्रवेश गरेका नेपालीलाई जसरी पनि सार्वजनिक क्वारेन्टाइन वा ‘होम क्वारेन्टाइन’ मा राख्न निर्देशन दिएको छ।

लकडाउनअघि र पछि स्थल मार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिको विवरण संकलन गरेर पठाउन पनि गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना संयन्त्रलाई निर्देशन दिएका छन्। उनीहरू क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बसेरनबसेको यकिन रिपोर्ट पेस गर्न गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै प्रशासन कार्यालयले गाउँमा कोही नयाँ मानिस आएको थाहा भए तत्काल सुरक्षाकर्मी वा प्रशासनमा खबर गर्न पनि आग्रह गरेको छ। ‘भारतबाट आएका सबैलाई सार्वजनिक क्वारेन्टाइनमा राख्न र त्यो पर्याप्त नभए गाउँ र परिवारका सदस्यबाट टाढा रहने गरी होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई स्पष्ट रूपमा निर्देशन दिएका छौं,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘आवश्यक सहजीकरण र समन्वयका लागि स्थानीय तहहरूलाई पनि विशेष आग्रह गरिसकेका छौं।’

नेपालमा कोभिड–१९ संक्रमित ३ जना पुगेपछि सरकारले थप फैलन नदिन पछिल्लो पटक विदेशबाट नेपाल आएकामाथि सूक्ष्म निगरानी बढाएको हो। फागुन २५ गतेबाट सरकारले भारतीय सीमा नाकाबाट भित्रिनेमाथि निगरानी राखेको थियो। चैत १० गतेसम्म करिब ६ लाख व्यक्ति नेपाल छिरेको प्रहरी र सशस्त्र प्रहरीको अभिलेखमा छ।

नाकामा सामान्य ज्वरो नापेपछि प्रवेश दिइएका उनीहरू आफ्नो घर पुगिसकेका छन्। भारतबाट आउनेमा कोरोना संक्रमणको जोखिम रहेको औंल्याउँदै सरकार, स्थानीय प्रशासन र सबै स्थानीय तहमार्फत ती मानिस कहाँकहाँ पुगे भन्ने विवरण संकलन र क्वारेन्टाइनमा बसेरनबसेकोबारे अनुगमनमा जुटेको हो। भारतबाटै आएका ५० जनालाई अछाममा सामूहिक क्वारेन्टाइनमा राखिएको छ।

नेपाली सेनाले ४१ स्थानमा, सशस्त्र प्रहरीले १ सय ६४ र नेपाल प्रहरीले १ सय ४ स्थानमा हेल्थ डेस्क राखेर भारतबाट आउनेको स्वास्थ्य परीक्षण गरेका थिए। भारतबाट नेपाल प्रवेश गर्न खोज्ने ७० जनामा ज्वरो र रुघाखोकी देखिएपछि उतै फर्काइएको थियो। भारतबाटै आएका एक नेपालीमा उच्च ज्वरो देखिएपछि कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।