कर्णाली प्रदेश सरकारले तोक्यो कोरोना उपचारका लागि ३ अस्पताल



सुर्खेत। कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका ३ वटा अस्पताल तोकेको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा तोक्ने निर्णय गरेको हो।

प्रदेश सरकारले उक्त कामका लागि प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १/१ करोड रुपैयाँ र चौरजहारी अस्पताललाई ५० लाख रुपैयाँ पनि दिएको छ।

मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको विपद व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहित सबै मन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको प्रवक्ता विमला केसीले जानकारी दिएकी छन्।

बैठकले कोषमा सहयोग गर्न जनप्रतिनिधि, राष्ट्रसेवक, उद्योगी व्यवसायी र अन्य इच्छुक व्यक्ति र संघसंस्थालाई अपिल गरेको छ। त्यस्तै मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि नेपाल सरकारसँग माग गर्ने र तत्काल उपलब्ध नभए आफैं खरिद गर्ने निर्णय पनि गरेको मन्त्री केसीले जानकारी दिइन् ।