काठमाडौँ। सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्याउन उद्योगीरव्यवसायीहरुलाई निर्देशन दिएको छ।
उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्याउन निर्देशन दिएको हो। गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगी व्यवसायी तथा राजधानीमा सञ्चालित सुपरमार्केट ग्रोसरी, खाद्य स्टोर तथा महानगरपालिकाका पदाधिकारीसग छलफल गरेको हो।
गृहसचिव महेश्वर न्यौपानेले लकडाउन अधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसग समन्वय गरेर पास लिन व्यवसायीलाई आग्रह गरेका थिए।
सामान किन्न जानेलाई भीडभाड नगरी पसल पुगेर फर्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको तर लकडाउन पालनामा अझै अटेर भइरहेकोले होम डेलिभरीलाई प्राथमिकतामा राखिएको हो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर अत्यावश्यक खाद्यवस्तुको आपूर्ति, बिक्रीवितरण तथा व्यवस्थापन सहज बनाउन होमडेलिभरीको व्यवस्था गर्न लागिएको बताए।
सरकारले लकडाउनका बेला दैनिक उपभोग्य वस्तु भण्डारण तथा आपूर्तिमा समस्या आउन नदिन सुरक्षा निकायलाई हाइअलर्टमा राखेको छ। भारतमा लकडाउन हुँदा पनि सामान नेपाल आइरहेको र यसका लागि स्थानीय प्रशासनले आफ्नो क्षेत्रमा पर्ने सीमा नाका तथा आफ्ना काउन्टर पार्टस सहजीकरण गरिरहेको गृह मन्त्रालयले जनाएको छ।
भारतबाट सामान ढुवानीमा समस्या परे सेनालाई त्यसका लागि खटाउने गरी आपूर्ति व्यवस्था मिलाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीले बताएका छन्।