चीनिया डाक्टरहरुबाट विश्वले सिक्नुपर्ने पाठ



काठमाडौं। कोरोना भाइरसविरुद्धको लडाइँमा चीनले लगभग विजय हासिल गरिसकेको छ। कोरोना भाइरसविरुद्धको यो जितमा चिनियाँ स्वास्थ्यकर्मी पहिलो पंक्तिका योद्धा थिए । यो लडाइँमा चीनभरमा एक लाख ५० हजारभन्दा बढी स्वास्थ्यकर्मी खटिए । कोरोना भाइरसको उद्गम मानिएको वुहानमा मात्र ४० हजारभन्दा बढी स्वास्थ्यकर्मी खटिएका थिए ।

वुहानको ४ नम्बर अस्पतालमा खटिएकी नर्स याङ वाङलान चिनियाँ सञ्चारमाध्यम सिसिटिभीसँगको कुराकानीमा भनेकी छिन्,  ‘यो युद्धमा गएजस्तै अवस्था हो । म यहाँ एक्लै लडिरहेकी छैन । मसँग हजारौँ साथीहरू छन् ।’

वाङलान चिनियाँ सैनिक ‘पिपुल्स लिबरेसन आर्मी’सम्बद्ध स्वास्थ्यकर्मी हुन् । चीन सरकारले वुहानमा स्वास्थ्यकर्मी अभाव भएपछि सैनिक स्वास्थ्यकर्मी खटाएको थियो । चीनको आधुनिक इतिहासमा सैनिक स्वास्थ्यकर्मीलाई गैरसैनिकको उपचारमा खटाएको यो पहिलोपटक हो ।

कोरोनाविरुद्धको लडाइँमा चीनले आफ्ना आठभन्दा बढी विशेषज्ञ डाक्टर गुमाउनुपऱ्यो  । कोरोना संक्रमित भएर मृत्युवरण गर्ने पहिलो डाक्टर थिए ली वेनलियाङ । ६ फेब्रुअरीमा लीको मृत्यु भएको थियो । यी ३४ वर्षीय डाक्टरले नै पहिलोपट सारा विश्वलाई यो नयाँ भाइरसबारे जानकारी दिएका थिए ।

लीले नै हुन्, जसले सी फुड मार्केटमा काम गर्ने मान्छेमा कोरोना संक्रमण देखिएको बताएका थिए । त्यसपछि चीन सरकारले १ जनवरीमा उक्त सी फुड मार्केट बन्द गरेको थियो । नयाँ भाइरसबारे जानकारी दिने लीलाई स्थानीय प्रहरीले कारबाहीको धम्कीसमेत दिएको थियो ।

कोरोना भाइरसबाट संक्रमितहरुको संख्या जब बढ्दै गयो, त्यसपछि चिनियाँ डाक्टरहरू  ‘गर या मर’को अवस्थामा पुगे । मुलुकभरबाट वुहानमा केन्द्रित भएका कैयौँ नर्सहले कोरोना भाइरस आफूमा पनि संक्रमण हुने डरले आफ्नो कपालसमेत खौरिए ।

१८ फेब्रुअरीमा चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सार्वजनिक गरेको रिपोर्टअनुसार वयोवृद्ध र बिरामीपछि सबैभन्दा बढी जोखिममा स्वास्थ्यकर्मी रहेको देखाएको थियो । यसैक्रममा कैयौँ नर्सले आफ्ना सन्तानलाई टाढैबाट अंकमाल गरेका दृश्य पनि चिनियाँ सञ्चारमाध्मयमा देखिएको थियो ।

संक्रमणसँग जुध्नका लागि समय बचत गर्न चिनियाँ डाक्टर र नर्सले ‘एडल्ट डाइपर’ प्रयोग गरे । शौचालय जाने समय जोगाएर उपचारमा लगाउन उनीहरूले ‘एडल्ट डाइपर’ प्रयोग गरेका थिए । कोरोनाविरुद्ध जुधिरहेका नर्सहरूका लागि चिनियाँ जनताले लाखौँको संख्यामा यस्ता डाइपर अस्पतालमा पठाएका थिए ।

चीनको भिडियो साइट भिभोमा ‘सिस्टर गो टु फाइट, वी आर विथ यु’ भन्ने सन्देश ट्रेन्डिङ भयो । कोरोनासँग जुध्न चीनमा खटिएका कुल स्वास्थ्यकर्मीमध्ये एकतिहाइ महिला थिए । त्यसैले, अन्तर्राष्ट्रिय नारी दिवस अर्थात् ८ मार्चका दिन चिनियाँ राष्ट्रपति सी जिङपिङले कोरोनाविरुद्ध लडिरहेका महिला स्वास्थ्यकर्मीका लागि विशेष सन्देश पठाएका थिए ।

स्वास्थ्यकर्मीहरूले देखाएको यो अदम्य साहसको नतिजा– चीनले कोरोनामाथि जित हात पाऱ्यो ।

कोरोनाविरुद्ध लडिरहेकी नर्स वु यालिङले आफ्नी आमाको मृत्युको खबर सुन्नुपरेको थियो । संक्रमित बिरामीको उपचारमा रहेका वेला उनले अस्पतालभित्रै तीनपटक प्रार्थना गरिन् र आफ्नो काममा फर्किइन् ।

चिनियाँ स्वास्थ्यकर्मीले यस्ता कैयौँ दुःख र पीडा सहनुपरेको थियो । तैपनि उनीहरूले हिम्मत हारेनन् । बरु उनीहरूले भने, ‘मेरो बिरामीलाई म केही हुन दिन्नँ ।’ कोरोनाविरुद्धको लडाइँमा उनीहरूले देखाएको यही प्रतिबद्धताको उपज थियो, कोरोनाविरुद्धको लडाइँमा चीनले हासिल गरेको विजय ।

संक्रमणको डरले अस्पतालमा स्वास्थ्यकर्मीबाहेक अरूलाई प्रवेश निषेधजस्तै थियो । त्यसैले, अस्पतालको फोहोर व्यवस्थापन पनि स्वास्थ्यकर्मीहरूकै जिम्मामा थियो ।

आठ घन्टाभन्दा लामो निरन्तरको ड्युटीपछि जब नर्सहरू मास्क र सुरक्षा उपकरण आफ्नो जिउबाट फुकाल्थे, तब उनीहरू लामो श्वास फेर्थे । अक्सिजन प्रवाह गरिएको कोठामा गएर आराम गर्थे । चिनियाँ सरकार र नागरिकले पठाइदिएको खाना खान्थे । केहीबेर आराम गर्थे, परिवारसँग कुरा गर्थे ।

यस्ता यावत् कठिनाइका बाबजुद पनि स्वास्थ्यकर्मी विचलित थिएनन् । बरु उनीहरु निरन्तर स्वास्थ्य सेवामा खटिरहे, खटिरहे । आफ्नो देशमा सफलता पाइसकेपछि सातजना चिनियाँ डाक्टरको टोली मद्दतका लागि यतिवेला सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित युरोपेली मुलुक इटाली पुगिसकेको छ ।

वुहानबाट स्वास्थ्यकर्मी आफ्नो घर फर्किएको दृश्य चिनियाँ सञ्चारमाध्यमले निकै प्राथकिताका साथ प्रसारण गरेका थिए, युद्धमा विजय हासिल गरेर फर्केका सिपाहीले जस्तो सम्मान पाउँछन्, सञ्चारमाध्यमले त्यस्तै सम्मान प्रकट गर्न त्यो दृश्य प्रसारण गरेका थिए । वुहानबाट फर्किँदै गरेका स्वास्थ्यकर्मीलाई चिनियाँ प्रहरीको टुकडीले पनि अस्पतालबाहिर सलामी दियो । प्रहरीले स्कर्टिङ गर्दै डाक्टरहरूलाई विमानस्थलसम्म पुऱ्याउँदा बाटोकिनारमा उभिएका चिनियाँले सम्मानस्वरूप तीनपटक शिर झुकाए ।

स्वास्थ्यकर्मी चढेको जहाज ल्यान्ड गर्ने पर्खाइमा मानिसहरू विमानस्थलमा कुरेर बसिरहेका थिए । स्वास्थ्यकर्मीहरू चढेको जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो ।

स्वास्थ्यकर्मीहरूको अटुट र निस्वार्थ खटाइले यस्तो स्वास्थ्य समस्या समाधान हुन सक्दो रहेछ भन्ने प्रमाणित त भएको छ नै, यस्तो निश्वार्थ खटाइप्रति राज्य र जनताले पनि उच्चस्तरको सम्मान प्रकट गर्दा रहेछन् भन्ने पनि देखाएको छ । एजेन्सी