गौरीफन्टामा अलपत्र परेका १९ जिल्लाका ९१४ जनाको उद्धार



धनगढी। भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई करिब २८ घण्टापछि कैलाली प्रवेश गर्न दिइएको छ।

नेपालमा गरिएको लकडाउनका कारण सोमबारदेखि नै सीमामा रोकिएका १९ जिल्लाका ९ सय १४ जनालाई मंगलबार राति करिब १० बजे कैलाली प्रवेश गर्न दिइएको हो । घण्टौंसम्म नाकामा अलपत्र परेकाहरुले नेपाल प्रवेश गर्न दिनुपर्ने माग गर्दै प्रदर्शनसमेत गरेका थिए।

अनलाइनखबरका अनुसार संघीय सरकारको निर्देशनपछि घरमै क्वारेन्टाइनमा बस्ने सर्तसहित उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको स्थानीय प्रशासनले जनाएको छ। त्रिनगर भन्सार भएर नेपाल प्रवेश गरेका उनीहरुलाई प्रदेश सरकारको समन्वयमा बसमा राखेर घरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ।

उनीहरुलाई उनीहरुकै जिल्लामा क्वारेन्टाइनमा बस्ने व्यवस्थासहित घर जान दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। क्वारेन्टाइन स्थापनाका लागि स्थानीय तहहरुलाई प्रदेश सरकारले बजेटको व्यवस्थासमेत गरिदिएको छ।

कोरोना संक्रमण फैलिँदै गएको भारतबाट नेपालीहरु बिभिन्न नाका हुँदै धमाधम नेपाल भित्रिइरहेका छन्। यसले नेपालमा पनि कोरोनाको संक्रमण फैलिने जोखिम बढेको छ।