काठमाडौँमा लकडाउन उल्लंघन गरे ६ महिना थुन्ने चेतावनी



प्रजिअ दाहाल भन्छन्, ‘यो सेल्फी खिच्ने र रमिता हेर्ने समय होइन’

काठमाडौँ। सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन अर्थात् चैत ११ गते सवारीसाधन आवागमनमा रोक लगाइएपनि मानिसहरुको आवतजावतमा भनेर काठमाडौँ प्रहरीले कुनै रोक लगाएन।

मानिसहरु घरको बाहिर हुल बनाएर मात्रै बसेनन्, सडकमा पनि बेफिक्री हिँडिरहेका थिए । कोरोना संक्रमण फैलिने डरले सरकारले पूरै देश लकडाउन गरिरहँदा काठमाडौँमा धेरै मानिसहरुले लकडाउनको मजाक बनाइरहेको छ।

‘लकडाउनको प्रभाव हेर्न’ सडकमा निस्कनेदेखि मर्निङ वाक र इभिनिङ वाक गर्नेहरुको सङ्ख्या पनि उत्तिकै थियो। पहिले कुनै राजनीतिक दलले गर्ने बन्द साँझ ५ बजे सकिएको घोषणा गरेपछिको दृश्य जस्तै लकडाउन पनि साँझ परेपछि सकिएको शैलीमा मानिसहरु घरबाहिर निस्किएका थिए।

मंगलबार सामान्य सम्झाएर पठाउने गरेको प्रहरीले पनि बुधबारदेखि कडा रुपमा प्रस्तुत हुने सङ्केत काठमाडौँका प्रमुख जिल्ला अधिकारीले दिएका छन्। रातोपाटीसँग कुराकानी गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबारदेखि काठमाडौँ प्रहरी कडारुपमा प्रस्तुत हुने बताएका हुन्।

रातोपाटीका अनुसार प्रजिअ दाहालका अनुसार मङ्गलबार ९५ प्रतिशत मानिसहरु घरमै बसेका थिए। केही मानिसहरु पहिलो दिन भएको कारणले कस्तो हुन्छ भन्दै बाहिर हेर्न निस्किएको पनि प्रजिअ दाहालले बताए । तर बुधबारदेखि त्यस्तो नहुने दाहालको भनाइ छ।

प्रजिअ दाहाल भन्छन्, ‘फिजिकल डिस्टेन्स नै सुरक्षाको पहिलो आधार हो। तपाईंहरु सडकमा निस्कनुभयो भने १ सय प्रतिशत जोखिममा हुनुहुन्छ भने घरमै बस्नुभयो भने १ सय प्रतिशत सुरक्षित। तर सरकारले गरेको आदेशलाई कसैले अवज्ञा गर्छ भने त्यो सजायको भागिदार हुन्छ।’

दाहालका अनुसार सरकारले अधिकार प्रत्यायोजनसमेत गरिसकेकाले सरकारको निर्देशन नमान्ने सर्वसाधरणलाई पनि धरपकड गरेर ६ महिना जेल हाल्न सकिने छ। त्यसकारण सरकारको निर्देशनको पालना गर्नु सबै नागरिकको कर्तव्य भएको उनले बताए। दाहालले भने, ‘हिजोको लकडाउन राम्रै थियो।

९५ प्रतिशत मानिसहरु घरभित्रै थिए। तर पहिलो दिन भएको कारण केही मानिसहरु बाहिर निस्किएका थिए। अब बुधबारबाट भने त्यस्तो हुँदैन । सरकारको निर्देशन नमान्नेलाई ६ महिनासम्म थुन्नसक्ने अधिकार मसँग छ। निर्देशन नमान्नेलाई म समातेर थुनिदिन्छु । त्यसकारण हिजोभन्दा आजको लकडाउन थप प्रभावकारी हुन्छ।’

प्रजिअ दाहालका अनुसार आजबाट प्रहरी पनि अलि बढी निर्मम बन्ने  । पहिलो दिन सम्झाई बुझाई गरेको भएपनि आजबाट सवारीसाधनमा मात्रै होइन, नागरिकको हिँडडुलमा पनि कडाई गरिने छ।

सेल्फी खिच्ने र रमिता हेर्ने समय होइन

मंगलबार अर्थात् पहिलो दिनको लकडाउनमा केही मानिसहरु सडकमा निस्किएर सेल्फी खिच्ने, क्रिकेट वा फुटबल खेल्ने र रमिता हेर्ने गरेको देखिएको भन्दै प्रजिअ दाहालले यो सेल्फी खिच्ने समय नभएको बताए ।

नागरिककै सुरक्षाका लागि घरभित्रै बस्न आग्रह गरिएको भन्दै बाहिर सडकमा आएर खेल्ने वा सेल्फी खिच्ने समय नभएकाले संयमित भइदिन पनि उनले आग्रह गरे । तर सरकारी निर्देशनको अवज्ञा गर्नेलाई आजदेखि प्रहरी पनि निर्मम भएर अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।