कोरोनाबारे नेपालले दक्षिण कोरियाबाट सिक्नुपर्ने पाठ



काठमाडौं। दक्षिण कोरिया एकैपटक सबैभन्दा धेरै कोरोना भाइरस फैलिएका दुई मुलुकमध्येको एक हो। चीनपछि दक्षिण कोरियामा यो भाइरसको प्रकोप फौलिएको थियो।

तर अहिले चीनको साथै दक्षिण कोरियामा नयाँ संक्रमणको संख्या उल्लेख्य कमी आएको छ। दक्षिण कोरियाले चीनको जस्तो अभिव्यक्ति स्वतन्त्रतामा पनि रोक लगाएन न त उसले यूरोप र अमेरिकाको अर्थतन्त्रलाई नै जोखिममा पर्ने गरी भाइरस फैलिन दियो। भाइरसको संक्रमण कति जनामा भयो भन्ने कुरा बिर्सिने हो भने यो भाइरस नियन्त्रणमा अडिग रहेको मुलुक दक्षिण कोरिया हो।

फेब्रुअरीको अन्तिम र मार्चको शुरुमा दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण केही दर्जन मानिसमा देखिएको थियो। बिस्तारै यो संक्रमण बढ्दै केही हजारमा पुग्यो।

फेब्रअरी २९ मा दक्षिण कोरियामा सबैभन्दा धेरै ९ सय ९ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको थियो। यो आँकडाले दक्षिण कोरियामा व्यापक मात्रामा यसको महामारी फैलिन सक्ने आशंका गरिएको थियो। तर एक साताभित्र दक्षिण कोरियामा नयाँ संक्रमितको दैनिक संख्या आधामा झर्‍यो। त्यसको पनि चार दिनमा पुनः संक्रमितको संख्या आधामा आयो र भोलिपल्ट अझै घट्यो।

आइतबार दक्षिण कोरियामा केवल ६४ जना नयाँ संक्रमित फेला परे। यो एक महिनामा सबैभन्दा कम नयाँ संक्रमितको संख्या हो।जबकी अहिले विश्वभर नयाँ संक्रमितको संख्या बढ्दो क्रममा छ। दैनिक रुपमा नै हजारौं मानिसहरु यो भाइरसबाट संक्रमित भइरहेका छन् । यो भाइरससँगै विश्वको स्वास्थ्य स्याहार प्रणाली र अर्थतन्त्र नै समस्यामा पुगिसकेको छ।

इटालीमा केही दिनयता दैनिक ५ सय भन्दा बढी मानिसले ज्यान गुमाइरहेका छन्। तर दक्षिण कोरियामा भने दैनिक आठ जनाभन्दा बढीको ज्यान गएको छैन।

दक्षिण कोरियाले कोरोना भाइरस नियन्त्रणका लागि गरेको प्रयासलाई अरुले पाठका रुपमा लिनुपर्ने विशेषज्ञहरु बताउँछन्। कठिनभन्दा कठिन कामलाई पनि सहज रुपमा गर्ने, प्रत्यक्ष रुपमा आवश्यक नियन्त्रण र मुलुकले धान्न सक्ने कदम, मुलुकभर परीक्षण र संक्रमितसँग सम्पर्क गर्ने मानिसलाई ट्रेसिङ र नागरिकलाई पाएको ठूलो सहयोगले दक्षिण कोरियाले कोरोना नियन्त्रण गर्न सक्षम भएको हो।

अहिलेसम्म भाइरसबाट सबैभन्दा प्रभावित मुलुकले भने दक्षिण कोरियाको बाटो समात्न सकेका छैनन्। केही मुलुकले यस्तो बाटोमा इच्छा देखाउन थालेका थिए तर यो भाइरसको महामारी फैलिएसँगै उनीहरुले त्यसलाई निरन्तरता दिन सकेनन्।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो र स्वीडेनका प्रधानमन्त्री स्टेफेन लोफभेनले दक्षिण कोरियाका राष्ट्रपति मूनजाइ–इनसँग कोरोना भाइरस नियन्त्रणका लागि चालेको उपायबारे जानकारी दिन आग्रह गरेका थिए ।

तर दुबै मुलुकले त्यो मोडल अपनाउन सकेनन्। अझै पनि दक्षिण कोरियाका अधिकारी भने भाइरस नियन्त्रणका लागि निकै सचेत भएर अघि बढिरहेका छन् । यहाँ दक्षिण कोरियाबाट सिक्नुपर्ने केही पाठ उल्लेख गरिएको छ –

१. संकट सुरु हुनुभन्दा पहिला नै कदम चाल्नु

दक्षिण कोरियामा पहिलो संक्रमण देखिएलगत्तै जनवरी अन्तिममा सरकारी अधिकारीहरुले केही चिकित्सा क्षेत्रका कम्पनीहरुसँग छलफल गरे । उनीहरुले कोरोना भाइरसको परीक्षण र आवश्यक सामग्रीको उत्पादन बढाउन आग्रह गरे ।

दुई साताभित्र संक्रमितको संख्या दुई अंकमा पुगिसकेको थियो । तर सरकारले सुरक्षाका किट्स उत्पादनसँगै आपूर्तिमा जोड दियो र धेरैभन्दा धेरै परीक्षण गरायो ।

अहिले एक लाख किट्स उत्पादन भइरहेको छ भने १७ मुलुकसँग किट्स निर्यातका लागि कुरा गरिरहेको छ छ।

अधिकारीहरुका अनुसार डाइगु शहरस्थित एक चर्चबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । संक्रमण देखिनासाथ उक्त शहरमा आपतकालीन अवस्था घोषणा भयो ।

दक्षिण कोरियाली अधिकारीले मानिसको गतिविधिमा प्रतिबन्ध नलगाई भाइरस नियन्त्रणको योजना ल्याए । विशेष गरी भीडभाडबाट यो भाइरस फैलिएको थियो । त्यसैले अधिकारीले त्यसमा अंकुश लगाए।

कोरोना भाइरसको संक्रमण पाँच दिनसम्म संक्रमणकालीन अवस्थामा हुन्छ। यस्तोमा यो भाइरस निकै सजिलै सर्छ । केही समयमै सयौं वा हजारौं मानिसमा यो संक्रमण सर्नसक्छ । त्यसैले यसले संकटको रुप लिनुभन्दा पहिला नै यसलाई रोक्न सके मात्र यो भाइरस नियन्त्रण आउन सक्छ ।

२. परीक्षण र सुरक्षित हुनु

दक्षिण कोरियाले अहिलेसम्म विश्वमै सबैभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिसकेको छ। अहिलेसम्म दक्षिण कोरियाले ३ लाखभन्दा धेरै मानिसलाई कोरोना भाइरसको परीक्षण गरिसकेको छ।

र, जसलाई संक्रमण देखिन्छ, उनीहरुलाई आइसोलेट गर्दै भाइरस नियन्त्रणको प्रयास गर्‍यो। त्यसका लागि अस्पताल र क्लिनिकमा कोरोना भाइरसको परीक्षण सेवा बढायो। अधिकारीहरुले ६०० परीक्षण केन्द्र स्थापना गरे। दक्षिण कोरियामा भाइरस परीक्षणको लागि केवल १० मिनेटभन्दा कम समय लाग्छ भने केही घण्टामा त्यसको नतिजा पनि आइपुग्छ।

३. पहिचान, आइसोलेसन र सर्वेक्षण

दक्षिण कोरियामा जब कुनै मानिसमा भाइरसको संक्रमण पुष्टि हुन्छ, स्वास्थ्यकर्मीले बिरामीसँग पछिल्लो समय सम्पर्कमा आएका मानिसको परीक्षण गर्ने मात्र होइन, आवश्यक परे उनीहरुलाई पनि आइसोलेट गर्ने काम गर्छन्। अर्थात सम्भावित सबै मानिसमा भाइरस संक्रमण भए नभएको परीक्षण गरिन्छ।

यसअघि मार्स भाइरसको महामारी फैलिँदा पनि दक्षिण कोरियाले सम्भावित मानिसको पहिचान गर्ने अभ्यास गरेको थियो। त्यसका लागि उसले फुटेज, जीपीएसलगायतका प्रविधिहरुको प्रयोग गर्‍‍यो। सरकारले कुनै नयाँ संक्रमित फेला परेको खण्डमा उसको नजिकका मानिसहरुलाई यसको सूचनादिने र सुरक्षित रहन मानिसहरुलाई स्मार्टफोनमार्फत आग्रह गर्ने काम गर्‍यो।

त्यहाँ पर्याप्त स्वास्थ्यकर्मी पनि उपलब्ध छैनन्। त्यसैले सरकारले सूचना दिन र सहकार्य गर्न नागरिकलाई आग्रह गर्‍यो। त्यसका लागि आवश्यक मात्रामा सार्वजनिक सेवा केन्द्र खोल्यो। यसले पनि दक्षिण कोरियामा कोरोना भाइरस फैलिन दिएन। एजेन्सी