अमेरिका बन्द गर्नका लागि बनेको होइन: ट्रम्प



काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस ९कोभिड–१९०को कारण अमेरिका बन्द नहुने बताएका छन्। कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको अवस्थामा ट्रम्पले अमेरिका बन्द गराउनको लागि नबनेको बताएका हुन्।

सोमबार ट्रम्पले आफ्नो प्रशासनले सतर्कतापूर्वक आर्थिक कामहरु पुरानै समयमा सुचारु रुपमा सञ्चालन गर्न निर्देशन दिन सक्ने बताएका हुन्। उनले आफूले सबै पक्षसँग सल्लाह गरेर सबै आर्थिक गतिविधिलाई यथावतरुपमा सञ्चालन गराउने तयारी भइरहेको बताएका छन्।

ट्रम्पले सबै नागरिकलाई सामाजिक दूरी राख्न सुझाव दिएको केही समयमा नै यस्तो घोषणा गरेका हुन्। अहिलेसम्म अमेरिकामा यो भाइरसको कारण ४६ हजार १४५ जना संक्रमित भइसकेका छन् । यसले अमेरिकाको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा प्रभाव परेको छ। भाइरसको कारण अमेरिकामा सबै व्यवसाय बन्द भएका छन् भने उल्लेख्य मात्रामा रोजगारीमा कटौती गरिएको छ।

सोमबार भने ट्रम्पले एक साताभित्रै यथावतरुपमा व्यवसाय चल्न सक्ने बताएका हुन्। उनले यो एउटा चिकित्सासम्बन्धी समस्या रहेको र यसको कारण मुलुकमा वित्तीय संकट आउन नदिने बताएका छन्। अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म ५८२ जनाको मृत्यु भइसकेको छ। एजेन्सी