कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकाले विश्व महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९) को सम्भावित जोखिमलाई न्युनिकरण गर्न सम्पूर्ण तयारी थालेको जनाएको छ। साथै गापाले ‘लकडाउन’ काे घाेषणा गरेकाे छ।
गापा अध्यक्ष धीरबहादुर बिष्टको संयोजकत्वमा पालिका स्तरिय समिति समेत गठन गरिएको छ। कर्णाली सन्देशको संक्षिप्त कुराकानीमा गापा अध्यक्ष बिष्टले भने, ‘हामीले संघीय र प्रदेश सरकारको निर्देशनअनुसार तयारी थालेका छौं। कोरोनाको लक्षण केही समय ढिलासम्म देखिने भएका कारण खासगरी भारतबाट आएका गाउँपालिका दाजुभाइहरुको स्वास्थ्य जाँच र उनीहरुलाई सिमित ठाउँमा बस्न अनुरोध गरेका छौं।’
अध्यक्ष बिष्टले अगाडि भने, ‘हाम्रो गापासँग जोडिएका विभिन्न स्थानहरुमा हेल्थ पोष्ट खडा गरेर चेकजाचको काम गरिरहेका छौं। आवश्यक तयारीमा जुटेका छौं। वडा नम्बर १ को पानी ट्याङ्की र वडा नम्बर ८ को खुलालुमा हेल्थ पोष्ट खडा गरेर बाहिरबाट आउने मान्छेको स्वास्थ्य परिक्षण गरेर प्रवेश गराइ रहेका छौं।’ त्यस्तै गापासँग जोडिएका अन्य विभिन्न स्थानबाट आवत जावत नगर्न र यथा स्थितिमा बस्न गापाले अनुरोध गरेको छ।