सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन्।
कोरोनासंक्रमणको सम्भावित जोखिमलाई न्युनिकरण गर्न अत्यावश्यक बाहेकका भेटघाट आजदेखि बन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माले कर्णाली सन्देशलाई जानकारी दिए।
मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९) ले निम्त्याएको संकटको सामाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गरेको सल्लाहकार शर्माले बताए।
उनका अनुसार विश्वव्यापी समस्याको रुपमा रहेको कोरोना भाईरसको संकट सामाधान गर्न स्वास्थ्य निर्देशिकाको अनिवार्य रुपमा पालना गर्नु अहिलेको मुख्य दायित्व रहेको भन्दै मुख्यमन्त्री शाहीले सबै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गरेका छन्।
संक्रमणवाट जोगिन प्रत्येक नागरिक आफैले पनि उच्च सावधानि अपनाउन, अनावश्यक हिडहुल नगर्न, भेटघाट तथा सम्पर्क नगर्न, भिडभाड तथा बजारमा नजान र स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्वन गर्न पनि मुख्यमन्त्री शाहीले आग्रह गरेको सल्लाहकार शर्माले बताए।
कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरताका साथ लागि रहेकोले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गरेका छन्।
कोरोनाको संकट सामाधान गर्न सरकारले अघि सारेको प्रतिकार्य योजनालाई साथ दिन आग्रह गर्दै मुख्यमन्त्री शाहीले सरकारका आधिकारीक निकायहरु, स्वास्थ्य संस्थाहरु, सुरक्षा निकायहरुको निर्देशनलाई पालना गर्न र सहयोग गर्न सबै नागरिकलाई अनुरोध गरेका छन्। यो विषम परिस्थितिको सामना गर्न मुख्यमन्त्रीज्यू र प्रदेश सरकार नागरिकको साथमा रहेको सल्लाहकार शर्माको भनाई छ।