काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता, संविधान सभाका पूर्व सांसद तथा नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले कोरोनाबाट सतर्क रहन आग्रह गरेका छन्।
नेता कर्णले विश्व माहामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९) बाट बच्न र बचाउनुका सौथ आफ्नो स्थानमा सचेत रहन आग्रह गरेका हुन्। उनले बिदेशी माटोमा रहेका नेपालीहरुले स्वदेशलाई परेको असहजतामा दिएको साथलाई स्मरण गरेका छन्। नेता कर्णले भनेका छन्, ‘विदेशमा रहेर नेपालमा भूकम्प जाँदाहोस्, पहिरो र डुवानमा होस्, तपाईं विदेशमा रहेका सम्पूर्ण नेपालीले गरेको सहयोगलाई हामीले सम्झेका छौँ।’
उनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वमा अहिले कोरोनाको महामारी फैलिरहेको छ। तपाईंहरु आफ्नो मातृभूमी छोडेर विभिन्न देशहरूमा अध्ययन, पेशा, व्यावसाय र रोजगारीको शिलशिलामा हुनुहुन्छ। नेपालमा बाढी पहिरो भुकम्पलगायतका प्राकृतिक बिपत्तिमा तपाईंहरुले आफ्नो मातृ भुमिलाई हृदयदेखि नै गर्नुभएको भरपुर सहयोग हामीले सदैव स्मरण गरिरहेका छौँ।’
उनले अगाडि लेखेका छन्, ‘यस जोखिमपूर्ण अवस्थामा तपाईंहरु जुन देशमा हुनुहुन्छ, त्यही राम्रोसँग आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। हामीहरु पनि सचेत भै नेपालमा स्वास्थ्यको ख्याल राख्नेछौँ।’