स्वागत नेपाल
कोरोना भाइरस फैलावटका लागि कागजी मुद्रा अथवा नोट पनि एउटा माध्यम बनेको छ। घरभित्रै बस्ने तर डेरावालहरुबाट कोठा वा फ्ल्याटको भाडा अशुल गर्दा, मास्क र अन्य सामानहरु कालोबजार मार्फत बेचेर हातहातै नोटका बिटा बटुल्दा त्यही नोटबाट पनि कोरोना भाइरस सर्ने अध्ययनहरुले देखाएका छन्। मैले यो वीचमा सेल्फ क्वारेन्टाइनमा बस्दा निक्कै राम्रोसँग यसबारे अध्ययन गर्न पाएँ।
अपराध शास्त्रको विद्यार्थीको हिसाबले पनि रुपैयाँ पैसासँग जोडिएका अपराध मनोविज्ञानमा कागजी पैसाबाट हुने एलर्जी र धेरै रकम बटुल्ने सामन्तहरुलाई ऋण असुल गर्दा पूराना रकम गन्दा त्यही पूराना रकममा हुने जम्र्स अर्थात् विषाणुयुक्त जिवाणुहरुको कारण हुने समस्याको बारेमा पनि केही अध्ययन पहिला नै गरेको थिएँ। यस पटक सामन्तहरुलाई लाग्ने पुराना नोटको एलर्जीबाट हुने रोगको सम्बन्ध कोरोनासँग जोडेर हेर्न पाएँ। यसबारे पनि विश्वमा धेरै अध्ययनहरु भइसकेका छन्।
धेरैलाई यो जानकारी नहुन सक्छ कि चीनमा कोरोना भाइरस संक्रमण फैलिएका ठाउँहरुमा कागजी मुद्राहरु करोडौको अंकमा जम्मा गर्न लगाइयो र त्यसपछि ४००० करोड युआन गोदाममा जम्मा भएको थियो। संक्रमणका समयमा सामान किनेर सुरक्षित स्थानमा रहन बस्नका लागि सामान खरिद गर्ने क्रममा पनि कोरोना भाइरस सो कागजी नोटबाटै फैलिएको समेत चिनियाँ सरकारले अनुमान गरेको थियो। त्यसरी संक्रमितहरुको हातबाट विभिन्न स्थानमा भुक्तान गरिएको रकम मध्ये चिनियाँ सरकारले ८४००० करोड रकम जलाउने घोषणा गरेको थियो।
घुस वापतको, कालाबजारी वापतको र गैरकानुनी तरिकाले राज्यकोषको रकम खानेहरुको भागमा चाहिँ कोरोना संक्रमितको हातबाट भाइरसयुक्त रकम जाओस् भन्न मन लागे पनि कारोनामुक्त चाहिँ सबै हुन सकियोस् नै भन्नुपर्छ अहिले किनकि भ्रष्टाचारीलाई किरा परोस् भनेरा सरापेर बस्नु मात्र बुद्धिमानी होइन भ्रष्टाचारविहीन व्यवस्था उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्र कसरी प्राप्त गर्न सकिन्छ भन्ने नै मूल प्रश्न हुनुपर्छ। सरापेर मात्र केही हुन्न। कोरोनाको सवालमा पनि सावधानी नै अपनाउनुपर्छ।
अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले कागजी नोटमा कोरोना भाइरस २४ घण्टा र प्लाष्टिकका नोटमा २ देखि ३ दिनसम्म रहन सक्ने उल्लेख गरेको छ भने इण्डियाको काउन्सिल अफ साइन्टिफिक एण्ड इण्डस्ट्रियल एण्ड इन्स्टिच्यूट अफ जिओमिक्स बायोलोजीले गरेको अनुसन्धानमा पनि एन्टिबायोटिक प्रतिरोधक व्याक्टेरियाहरु रहेको पुष्टि गरेको थियो।
त्यस्तै साइन्स जर्नलले पनि A shotgun metagenome sequencing approach शीर्षकको एक लेखमा कागजी नोटमा शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने ७८ रोगाणुहरु रहेको अनुसन्धानले देखाएको प्रकाशित गरेको छ।
खासमा किराना पसल, औषधी पसल, अस्पतालहरु लगायतमा यस्ता नोट र घरभाडा आदि सोझै भुक्तानी गर्दा र गैरकानुनी तरिकाले लिनेदिने घुस र कमिशनका रकम डिजिटल्ली भुक्तानी नहुने भएकोले सोझै रकम लेनदेन हुँदा यस्तो भाइरसको फैलावट हुने पक्का छ। जर्नल अफ रिसर्च इन बायोलोजीको सन् २०१४ को एउटा रिपोर्टमा पनि यसलाई पुष्टि हुने गरी आफ्नो अनुसन्धान प्रकाशित थियो। ब्रिटेन, ऑस्ट्रेलिया, क्यानाडामा पनि प्लास्टिक र कागजी नोट बारे यस्ता अनुसन्धान भएका छन्।
सर्वप्रथम सन १७९६ मा डाक्टर एडवर्ड जेनरले यो विषयमा पत्ता लगाएका थिए। हामीले अधिवक्ताका हैसियतमा कतिपय मुद्दाहरुमा अदालतमा वहस पैरवीका क्रममा नयाँ पत्ता लागेका रोगहरुका बारेमा, तिनका कारणका बारेमा पक्षलाई न्याय दिलाउन सहयोग गर्ने क्रममा अदालतलाई प्रष्ट गर्नका लागि पनि यस्ता विषयहरु प्रस्तुत गर्ने गरेका छौं। बलात्कारका कसुरमा संलग्न व्यक्तिका मानसिक रोगहरु र बलात्कृतको मनोदशाका बारेमा पनि यस्ता विभिन्न रोगका प्रसंगहरु आउने गर्छन्।
यस्तै सन्दर्भमा मैले एउटा मुद्दामा ६ अंकबाट डरलाग्ने रोग भएको एक व्यक्तिको बारेमा अदालतमा बोलेको थिएँ। जसलाई अंग्रेजीमा Hexakosioihexekontahexaphobia भनिन्छ। यो शब्द नै मैले अहिलेसम्म पढेको सबैभन्दा धेरै अक्षर भएको एउटा शब्द पनि हो। यस्ता विषयको अध्ययन एउटा वकीलका लागि आवश्यक पनि हुन्छ र कोरोनाबारे पनि अपडेटेड सूचनाका लागि गरेको अध्ययनलाई यहाँ सबैका लागि उपयुक्त होला भनेर मात्र छोटकारीमा पस्किएको हुँ। बाँकी यस बारेमा अझै धेरै सुरुचीपूर्ण तथ्यहरु पनि छन्।
नोटका कारणले हुने रोगहरुका कारण नै अहिले संसारका धेरै देशहरुले क्यासलेस पेमेन्टको लागि नोटिफिकेसनहरु जारी गरिरहेका छन्। विश्व स्वास्थ्य संगठनले निक्कै वर्षअघि देखि नै जनस्वास्थ्यका दृष्टिले अनलाइन पेमेन्ट, मोबाइल बैंकिंग, इंटरनेट बैंकिंग, कार्ड आदिमा जोड दिँदै आएको छ।
अक्सफोर्ड युनिभर्सिटीले सन् २०१२ मै गरेको एउटा अनुसन्धानमा एउटा कागजी नोटमा २६ हजारसम्मको संख्यामा व्याक्टेरिया हुने सार्वजनिक गरेको थियो। यसका आधारमा कागजी नोटबाट झन् धेरै चाँडो कोरोना भाइरस फैलिन सक्ने देखिन्छ किन कि सबैभन्दा धेरै मान्छेले हात मिलाउने भन्दा बढी कागजी नोटको सर्कूलेसन बढी हुने गर्छ। महर्षि दयानंद विश्वविद्यालय, फार्मेसी विभागका असिस्टेंट प्रोफेसर डा. अनुराग खटकड़ले पनि यो बारेमा अध्ययन गरेका छन्। उनको अनुसन्धानको प्रतिवेदन डिपार्टमेंट अफ साइन्स एण्ड टेक्नोलोजीलाई बुझाइएको थियो।
विश्व स्थास्थ्य संगठनको सुझाव अनुसार चीनले आफ्नो देशको कागजी नोटलाई सेनिटाइज्ड गर्न १४ दिनसम्म नोटहरु भण्डारण गरेको थियो। नेपालमा यसतर्फ ध्यान दिइएको छैन। अनुसन्धानहरुले डेविट, क्रेडिट कार्डहरु पनि सुरक्षित रहेका छ्र्रैनन् भन्ने समेत देखाएका छन्। ती सबै प्लाष्टिक कार्डहरु भएकोले यसमा कोरोना भाइरस कम्तिमा पनि २४ घण्टासम्म जीवित रहन सक्छन् भन्ने अनुसन्धानका तथ्यहरु पनि छन्।
यस बारेमा विविसीमा प्रशान्त चाहलले गत १९ मार्चमा इण्डियामा कागजी नोटबाट हुन सक्ने खतराको बारेमा सचेत गराउँदै लेखेका समेत थिए। नेपालले पनि यसबारेमा ध्यान दिन जरुरी छ। नत्र स्थिति नोटलोलुप कालाबजारीया, घुसखोर, जम्माखोर, कमिशनतन्त्रीहरु सबैका कारण भित्रभित्रै भयावह हुन पनि सक्छ।
नोट :- यो लेख मैले आफ्नो पत्रकारिता जीवनको पूर्वअनुभव, कानुन व्यवसायको पृष्ठभूमिमा अदालतमा प्रस्तुत गर्ने गरेको तथ्यहरु समेतका आधारमा तयार गरेको हुँ, सबैका लागि काम लाग्ला भनेर यहाँ प्रस्तुत गरेको छु। म यसको विज्ञ होइन, अनुसन्धानहरुले देखाएका वस्तुतालाई मात्र विश्लेषणका लागि लेखेको हुँ।