कोरोनाभाइरसबारे सरकारले यि कुरामा ध्यान दिनुपर्छ



काठमाडौँ। विश्व माहामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९) को सम्भावित खतरालाई कम गर्न सरकारले केही कदम चालेता पनि ढुक्क हुने अवस्था भने छैन।

पहिलो कुरा त कोरोनासम्बन्धी सरकारले गरेका अहिलेसम्मका धेरै निर्णयहरु काजगमा सिमित छन्। अर्को कुरा आम मानिसहरुले सरकारका निर्णयलाइ गम्भीरताका साथ लिएकाे पाइदैन।

सम्भावित जोखिमलाई कम गर्ने तयारीमा जुटेको सरकारलाई साथ दिनु आम नागरिकको कर्तव्य हो। सरकारको निर्णयलाई खेलाची सम्झेर जनताहरु भीडभाड गर्ने र लाप्रवाही गर्ने जस्ता काम गर्ने हो भने स्थिति भयावह आउन सक्छ ! ‘सेल्फ क्वारेनटाइन’ मा बस्न र सचेत बन्नका लागि सरकारले गरेको अनुरोधलाई जनताले अनुसरण गर्दै राज्यलाई सहयोग गर्नुपर्छ।

तर, केही कुराहरुमा सरकारले ध्यान दिन नसकिरहेको हुन सक्छ। त्यसमा आफूले जानेका कुराहरु सुझावका रुपमा राख्न सक्नुपर्छ। यस्तो विपदको अवस्थामा सबैभन्दा प्रभावित वर्ग, क्षेत्र र समूदायलाई सरकारले पहिचान गरि तीनको व्यवस्था कसरी गर्ने ? भनेर गृहकार्य गर्नुपर्छ। सरकारले शहरमा मात्रै बढी ध्यान दिएको पाइन्छ। तथापी कोरोना संक्रमण फैलियो भने शहरभन्दा गाउँ धेरै प्रभावित हुने जानकारहरु बताउछन्। जहाँ अस्पताल र बाटोको सुविधासम्म छैन। त्यता तिर पनि सरकारले चाँडो ध्यान दिनुपर्छ। साथै आवश्यक तयारी थाल्नुपर्छ।

अहिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनालाई विश्वव्यापी महामारी भनेर घोषणा गरेको छ। संक्रमणको दर र अन्य देशमा फैलिने क्रम बढ्दो छ। इटाली र अमेरिका जस्ता देशहरुले यसलाई नियन्त्रण गर्न सकेका छैनन्। जनशक्ति र उपकरणहरु धान्ने अवस्थामा छैनन्। ती देशहरुमा तयारी नपुगेको प्रष्ट देखिन्छ। त्यसबाट पनि हाम्रो देशले पाठ सिकेर आवश्यक तयारीमा जुट्नुपर्छ। त्यस्तै चीनले अभ्यास गरेको प्रक्रिया र उसले हासिल गरेको प्रविधिको प्रयोग गर्नुपर्छ। चीनसँग आश्वयक सहयोग र जनशक्तिको साथ लिएर नेपाललाई कोरोनामुक्त देश बनाउन कुनै कसरबाँकी राख्नु हुँदैन।

देशभर रहेका अस्पतालहरु मध्ये केही अस्पताहरुलाई कोरोना विशेष अस्पताल घोषणा गरेर आवश्यक तयारीमा जुट्नुपर्छ। ता कि सरकारले अहिले संघीय राजधानीमा टेकु अस्पताल, वीर अस्पताल र शिक्षण अस्पतालमा समेत कोरोनालाई लक्षित गरेर नयाँ संरचना निमार्ण गर्ने काम गरिरहेको छ। यो तयारी खास प्रभावकारी र व्यवहारिक देखिदैन। किन कि उल्लेखित अस्पतालमा अन्य रोगका विरामीहरुको संख्या अत्याधिक छ। र हुन्छन् । त्यसैले पनि सरकारले कुनै न कुनै अस्पताललाई कोरोना विशेष घोषणा गर्नैपर्छ।

त्यस्तै सरकार अब सीमामा केन्द्रीत हुनुपर्छ। केन्द्र सरकारले अहिलेसम्म सीमा नाकाहरु बन्द नगरी स्वास्थ्य जाँचमा कडाइ गर्ने नीति लिएको छ। तर, सीमित स्वास्थ्यकर्मी र अपर्याप्त उपकरण लिएर स्वास्थ्य परीक्षण गर्न खटिएका स्वास्थ्यकर्मीहरूलाई चेकजाँच गर्न हम्मे-हम्मे परिरहेको छ। प्रदेश पाँच र सुदुरपश्चिमका विभिन्न नाकाबाट हजारौं नेपाली घर फर्किरहेका छन्।

यसमा पनि प्राप्त ध्यान नदिएको देखिन्छ। हवाइ मार्फतभन्दा पनि भारतबाट आउने नेपाली र अन्य नागरिकलाई गम्भीरताका साथ लिनुपर्छ। त्यस्तै अन्य देशबाट आएका र कोरोनाका लक्षण देखिएका मानिसहरुले सबैभन्दा पहिले कसलाई र कसरी अस्पताल पुग्ने ? कुन अस्पताल पुग्ने ? त्यस कुरामा सरकार र आम मानिसबीच थाह हुनुपर्छ। कोरोनाको लक्षण र आशंका गरिएका व्यक्तिलाई बोक्ने एम्बुलेन्सको छुट्टै व्यवस्था मिलाउन सक्नुपर्छ।

त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर (आईसीयू) विभाग प्रमुख डा। सुवास आचार्य सरकारको पूर्वतयारीप्रति सन्तुष्ट छैनन्। उनी भन्छन्, ‘म एउटा उदाहरण दिन्छु, कसैलाई ज्वरो र रुघाखोकी देखियो भने त्यो बिरामी कहाँ जाने ? अहिलेसम्म कहाँ र कसरी जाने एकिन छैन। एम्बुलेन्स बोलाउन छुट्टै सम्पर्क नम्बर खोई ? एम्बुलेन्समा खटिने चालक तथा स्वास्थ्यकर्मीलाई पीपीई खोई ? अस्पताल लागिसकेपछि उनीहरुलाई छुट्टै जाँच्ने स्वास्थ्यकर्मी खोई ? एउटै डाक्टरले कोरोनाको पनि बिरामी जाँच्ने, अर्को पनि बिरामी जाँच्ने हो ?’

उनी अगाडि भन्छन्, ‘बाहिरबाट हेर्दा सरकारले निकै सक्रियता देखाएको देखिन्छ। दिनहुँ मिटिङ भइरहेको छ। अनेकौं निर्णय भइरहेका छन्। एकपछि अर्को निर्णय गर्नु सकारात्मक हो। तर, मुख्य समस्या भनेको सबै निर्णय कागजमै सीमित भयो। र, हामी ढुक्क हुने भनेको कोरोना संक्रमण नहुञ्जेल मात्रै हो। संक्रमण देखियो भने हामीले केही तयारी गरेको रहेनछौं भन्ने अवस्था आउँछ। किनकि जे जति निर्णय गरे पनि संक्रमण फैलिएको देशबाट आएकाहरु कहाँ के गर्दैछन् भन्ने समेत सरकारलाई थाहा छैन। जब कि उनीहरुलाई त क्वारेण्टाइनमा राख्न पर्ने हो, बाहिर हिँडडुलमा प्रतिबन्ध लाउनुपर्ने हो। तर, विदेशबाट आएकाहरु यसरी हिँडडुल गर्दा कसैले भाइरस सार्‍यो भने अवस्था कस्तो होला भनेर अहिले नै रोक्नुपर्ने हो। तर, त्यो केही भएको देख्दिनँ।’

सरकारले आधाभूत तयारीमा ध्यान नदिएको भन्दै उनले भने, ‘सुरुमा आशंका गरिएका बिरामीलाई अस्पतालसम्म कसरी लैजाने त्यो तयारी हुनुपर्‍यो। त्यसपछि जाँच्ने चिकित्सक र एम्बुलेन्सका चालकलाई पीपीई अनिवार्य उपलब्ध गराउनुपर्‍यो। नमूना संकलन गरेपछि आशंकित संक्रमितलाई राख्ने छुट्टै क्वारेन्टाइनस्थल हुनुपर्‍यो। क्वारेन्टाइन स्थलमा बस्दा सिकिस्त विरामीलाई राख्न पहिले अस्पताल चाहियो, अनि मात्र आईसीयू चाहिन्छ। प्रारम्भिक काम नगरी आईसीयू आईसीयू मात्र भनेर दौडिँदा कोही संक्रमित भेटिए भने यस्तै गल्तीले धेरै मानिसमा संक्रमण फैलिन सक्छ।’

कोरोनाभाइरस (कोभिड-१९) बाट इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ। कोरोनाका कारण संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ। साथै संक्रमितको संख्या ३ लाख नाघिसकेको छ। यद्यपि, चीनमा लगातार पछिल्लो तीन दिनदेखि घरेलु संक्रमणका कारण कोरोनाका एकजना पनि बिरामी भेटिएका छैनन्।