काठमाडौँ। विश्व माहामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९) लाई लक्षित गर्दै संघीय राजधानी काठमाडौँका घरमुलिहरुले कोठाभाडामा बस्ने मानिसलाई राहत स्वरुप भाडा नलिने घोषणा गर्न थालेका छन्।
यसै क्रममा कालिकोटका पारसमणी बिष्टले पनि संघीय राजधानी काठमाडौँको सितापाईलामा रहेको घरमा बस्ने मानिसलाई रातह होस् भन्ने कामनाकासाथ कोरोनाको प्रकोपलाई दृष्टिगत गर्दै चैत महिनाको भाडा नलिने घोषणा गरेका छन्।
उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरना भाईरस (कोभिड-१९) को विश्वब्यापी संक्रमण प्रति ध्यान दिदै मेरो घरमा बस्ने ११ वटा कोठाका सबैलाई स्वास्थको ख्यालगर्नु भन्दै चैत महिनामा उठ्ने ५१४५० रुपैयाँ भाडा छुट गरि दिएको छु।‘ बिष्टसँगै कालिकोटकै व्यक्ति युवा तथा राष्ट्रिय युवासँग नेता वकिल बमले पनि एक महिनाको कोठाभाडा नलिने घोषणा गरिसकेका छन्।
हिजोमात्रै सबैभन्दा पहिले हरिहर लामिछाने दम्पतिले चैतदेखि तीन महिनासम्मको कोठाभाडा नलिने घोषणा गरेका थिए। त्यसपछि विभिन्न व्यक्तिले आफ्नो घरमा बस्ने मानिसहरुलाई राहत होस् भन्ने अपेक्षाका साथ उदाहरणीय काम गरिरहेका छन्।