कोरोनाविरुद्ध नरहरिनाथ गापाले थाल्यो तयारी



कालिकोट। विश्व माहामारीका रुपमा फैलिरहेको कोरानाभाइरस (कोभिड १९) बाट बच्न जिल्लाको नरहरिनाथ गाउँपालिकाले विभिन्न ठाउँमा हेल्थ डेस्क स्थापना गर्ने भएको छ।

संघीय सरकारले बिहीबार कोरोनाबाट बच्न र संक्रमण हुन नदिनको लागि सम्पूर्ण तयारीमा जुट्न निर्देशन दिएसँगै गापाले पनि आवश्यक तयारी थालेको हो।

गाउँपालिकाका प्रत्येक वडाहरुमा कोरोना सम्बन्धी जानकारीमुलक र जनचेतनामुलक पोष्टरहरुसमेत वितरण गरिने अध्यक्ष धीरबहादुर बिष्टले बताएका छन्। अध्यक्ष बिष्टले कोरोना विश्वभरी माहामारीको रुप लिएका कारण आफू र अरुलाई बचाउन सम्पूर्णमा अनुरोध समेत गरेका छन्।

अध्यक्ष बिष्टको संयोजकत्वमा गाउँपालिका स्तरीय कोरोनाभाईरस पूर्व नियन्त्रण समिति गठन गरिएको छ। समितिमा गाउँपालिकाका उपाध्यक्ष, ९ वटै वडाका अध्यक्षहरु विभिन्न राजनीतिक दलका प्रतिनीधीहरु र स्वास्थ्यकर्मीलगायत १६ सदस्य कोरोनाभाईरस पूर्व नियन्त्रण समितिमा रहेका छन्।

साथै लंकबहादुर बटालाको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक तयारी समिति समेत गठन गरिएको छ। त्यस्तै कोरोना भित्रिन र संक्रमित हुन नदिनका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा २ बेडको आईसुलेसन स्थापना गरिने भएको छ।

गाउँपालिकाका मुख्य नाका तथा प्रवेशद्वारहरु वडा नं १ को कोटबाडाको पानी ट्या‌ंकी, वडा नं ८ को खुलालु चौकी र अछामसँग सिमाना जोडिएका उच्छव र लालुको बार्सेलगायतका प्रमुख नाकाहरुमा हेल्थ डेस्क स्थापना र आवश्यकीय ‌औषधी उपकरणहरुकोसमेत प्रवन्ध मिलाईने गाउँपालिकाले बताएको छ।