‘नीजि शिक्षाका व्यापारीहरु हो, यो बेला त सटर बन्द गर’



काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कोरोनाका कारण विश्व त्रसित बनेको बेला नेपाल सरकारले दिएको निर्देशन विपरित नीजि विद्यालयले भर्ना र प्रवेश परिक्षा लिईरहेको भन्दै आपत्ति जनाएका छन्।

उनले शुक्रबार सामाजिक सञ्जाल फेशबुक मार्फत उनले नीजि विद्यालयका सञ्चालकहरुलाई यस्तो संटकका बेलासमेत शिक्षाको ब्यापार गरिरहेको भन्दै आपत्ति जनाएका हुन्। उनले लेखेका छन्,नीजि शिक्षाका व्यापारीहरु हो, यो बेला त सटर बन्द गर।

संगठनका संयोजक ऐन महर र सहसंयोजक तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘विश्वब्यापि महामारीको रुपमा आम विश्व समुदायलाई नै आक्रान्त पार्नेगरि कोराना भाइरस (कोभिड १९) सर्वत्र फैलिरहेको वर्तमान संकटपुर्ण घडीमा नेपाल सरकार र सम्पुर्ण नेपाली जनता अत्यन्तै सतर्कता, गम्भीरता र जिम्मेवारीवोधका साथ अघि वढिरहेको विदितै छ।’

अगाडि लेखिएको छ ‘यसै सन्दर्भमा नेपाल सरकारले दिएको निर्देशन र लिएको नीतिको अवज्ञा गर्दै कतिपय निजी तथा संस्थागत विद्यालयहरुले प्रवेश परीक्षा र विद्यार्थी भर्ना जारी राखेको परिघटनाप्रति हाम्रो संगठन अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको छ।’

‘विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड र नेपाल सरकारले जारी गरेको निर्देशन लत्याउंदै आम विद्यार्थीको स्वास्थ्यलाई नै ठुलो जोखिममा पारेर गरिएका यसखालका गैरजिम्मेवारपुर्ण हर्कतप्रति हामी घोर निन्दा र आपत्ति प्रकट गर्दछौं। अनेरास्ववियू यस खालका गैरजिम्मेवार गतिविधि गर्ने सवै विद्यालयहरुलाई तत्काल कार्वाही गर्न नेपाल सरकार र अन्य सरोकारित नियमनकारी निकायहरुलाई जोडदार माग गर्दछ।’ विज्ञप्तिमा उल्लेख छ।