कर्णाली प्रदेश विपद व्यवस्थापन समितिको बैठक सम्पन्न



सुर्खेत। विश्व माहामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट बच्नका लागि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाउने भएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अधयक्षमा शुक्रबार कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले ५० करोड रुपैयाँको विपद व्यवस्थापन कोषसमेत स्थापना गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले कोरोना रोकथामको लागि ५० करोड रुपैयाँको विपद व्यवस्थापन कोषसमेत स्थापना गर्ने निर्णय गरेको छ। त्यस्तै प्रदेश सरकारले हिमाली तथा पहाडी जिल्लामा कोरोनाको कारण कुनै बिरामीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थामा आएमा हेलिकोप्टर पनि प्रयोग गरिने छ।

मुख्यमन्त्री शाहीले उक्त माहामारीबाट जोगिनका लागि सम्पूर्ण प्रयास र उपाय अपनाउन कर्णालीवासीलाई आग्रह गरेका छन्। साथै उनले कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्ध सम्पूर्ण जनशक्ति प्रयोग गर्ने बताएका छन्। कोरोनाबाट हुने सम्भावित जोखिमलाई कम गर्नका लागि सम्पूर्ण तयारी थाल्न सबै सरोकारवालाहरुलाई निर्देशन दिएका छन्।

संघीय सरकारको वैठकमा सहभागि भएका मुख्यमन्त्री शाही आजमात्रै सुर्खेत पुगेका हुन्। केही समय पहिले पनि मुख्यमन्त्री शाहीले प्रदेशका विभिन्न स्थानमा पुगेर भए गरेका प्रयासहरुका बारेमा जानकारी तथा अनुगमन गरेका थिए।