कोरोना त्रास: काठमाडौँ छोड्नेहरुको संख्या बढ्यो



काठमाडौँ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को त्रासको प्रभाव संघीय राजधानी काठमाडौँमा पनि परेको छ।

पछिल्लो समयमा विश्वभरीका विभिन्न मुलुकहरुमा ‘लकडाउन’ को अवस्था सिर्जना भएपछि काठमाडौँ उपत्यकाबाट गाउँ जाने यात्रुको संख्या बढ्न थालेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो। उपत्यकाको कोटेश्वर, नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ।

घर जान आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरु उपत्यका छोड्ने क्रम बढेको बताउँछन्।