नेपाली सेनाद्वारा क्वारेन्टाइन निर्माण



तस्बिर : चन्द्रबहादुर आले

काठमाडौँ। नेपाली सेनाले राजधानीको भद्रकाली स्थित आफ्नो मुख्यालयमा कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको तयारीका लागि क्वारेन्टाइन बनाएको छ।

सेनाले सैनिक मुख्यालय जंगी अड्डामा ५४ कोठाको टेन्ट तयार गरेको हो। टेन्टहरुलाई ९ कलस्टरमा छुट्याइएको छ, प्रत्येक कलस्टरमा ६ वटा टेन्ट राखिएको छ।

‘एउटा टेन्टमा २ जना विरामी राख्न सकिन्छ, उनीहरुलाई एकआपसमा पनि छुट्टै किसिमले सुत्ने व्यवस्था गरिएको छ जहाँ उनीहरुले हाछ्यौं गर्दा पनि भाइरस सर्दैन’ सेनानी डाक्टर ली बुढाथोकीले भनिन्। यी क्वारेन्टाइन मुख्य गरी सेनाको लागि तयार गरिएको हो।

सेनाको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा डाक्टर बुढाथोकीले भनिन् ‘यो क्वारेन्टाइनको मोडल हो र नेपाली सेनाको प्राय पृतनामा खेलकुद मैदानहरु छन्, त्यही मैदानलाई नै क्वारेन्टाइन बनाउने गरी यो मोडल तयार पारिएको छ।’