चीनमा कोरोनाभाइरसको संक्रमण शून्य



काठमाडौँ। कोरोना भाइरसविरुद्धको लडाइँमा चीनले थप सफलता हात पारेको छ।

गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ। मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्रमणका कारण कसैको पनि ज्यान गएन।

गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा बुधबार शून्य संक्रमण देखिएको हो। हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार वुहानका कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जनाएको छ।

चीनले मृत्युदर पनि शून्यमा झारेको छ। वर्ल्डओमिटर्सका अनुसार, बुधबार चीनमा संक्रमित कसैको पनि मृत्यु भएको छैन। कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन्। यी मध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ।