चीनले नेपाललाई जनशक्तिसहितको सहयोग पठाउने



काठमाडौँ। छिमेकी मुलुक चीनले नेपालका लागि आवश्यक पर्ने मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव गरेको कान्तिपुर दैनिकमा समाचार छ।

नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको हो। भाइरस प्रभावित अन्य मुलुकहरूलाई सहयोगको मात्रा बढाइरहेको चीनले नेपालमा पनि सम्भावित महामारी रोक्नका लागि सहयोगको प्रतिबद्धता जनाएको हो।

कोरोना भाइरस रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार चीनले सहयोगका सम्भावित क्षेत्रबारे पनि उल्लेख गरेको छ। ऊर्जा, मास्क, मेडिकल सामग्री र मेडिकल टिम पठाउनेसम्मको प्रतिबद्धता चीनबाट आएको छ। त्यस्तै भाइरसको संक्रमण घट्नेबित्तिकै नेपालले चाहे चिनियाँ पर्यटकहरूको आगमन पनि अरूभन्दा पहिले खुला गर्न तयार रहेको प्रतिबद्धता आएको छ।

त्यस्तै नेपालको पूर्वाधार निर्माणको कामलाई पनि नेपालले चाहेको समयमा गति दिन तयार रहेको सूचना चीनले पठाएको छ । ‘यस्तो गर्ने हो भने तुरुन्त माग होस्, हामी तत्पर छौं भनेर चिनियाँ पक्षबाट हामीलाई आश्वासन आएको छ,’ उपप्रधानमन्त्री पोखरेलले मंगलबार कान्तिपुरसँग भने, ‘हामी पनि संक्रमण नफैलियोस् भनेर लागेका छौं र आवश्यक पर्ने सबै खालका सहयोग लिन्छौं ।’

केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच पनि कुराकानी भएको थियो । त्यस क्रममा पनि पनि सहयोग गर्ने विषयमा दुईपक्षीय कुराकानी भएको थियो ।