मोदीद्धारा कोरोनाविरुद्ध आकस्मिक कोषको प्रस्ताव


काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको गम्भीर चुनौती देखिएको भन्दै सार्क राष्ट्रहरु सहकार्य गरेर बढ्नुपर्नेमा जोड दिए। आईबारसाँझ सार्क नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै उनले कोरोनाविरुद्ध आकस्मिक कोष खडा गर्ने प्रस्ताव गर्दै भारतका तर्फबाट एक करोड डलर छुट्याइने बताए।

कोषको रकम सार्क देशहरुले आवश्यक पर्दा प्रयोग गर्न सकिने गरी व्यवस्था गर्न समेत प्रस्ताव गरे। मोदीले भने, ‘भ्रमित हुने होइन सहकार्य गर्ने हो, आतंकित हुने होइन तयारी गर्ने हो, कोरोना भाइरसविरुद्ध आकस्मिक कोष खडा गर्ने प्रस्ताव गर्दछु र भारतका तर्फबाट शुरुमै एक करोड डलर कोषको प्रस्ताव गर्दछु।’ सार्क देशहरुको चिकित्सक, विज्ञ र परीक्षणलगायत प्रविधिको मिलेर प्रयोग गर्न सकिने प्रस्ताव समेत गरे।

मोदीले कोरोना भाइरसको जोखिमसँग लड्न स्वास्थ्यकर्मीलाई अनलाइन तालिम पनि दिन सकिने बताए। उनले यस क्षेत्रमा पर्न सक्ने आर्थिक चुनौतीको पनि मिलेर सामना गर्न सकिने बताए । व्यापारलगायतका क्षेत्रमा आवश्यक कदम चाल्न सकिने प्रस्ताव गरे।